फाइनलमा मलेसियालाई नेपालको सम्मानजनक लक्ष्य, नरेनको शतक

फाइनलमा मलेसियालाई नेपालको सम्मानजनक लक्ष्य, नरेनको शतक

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको सम्मानजनक लक्ष्य दिएको छ ।

नेपालका नरेन भट्टले शतकीय पारी खेले।  

बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको हो। 

भट्टले ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतक बताए। उनले ८२ बलमा शतक पूरा गरेका थिए। उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

नेपालका ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए। दोस्रो विकेटका लागि निरज र नरेन भट्टले ५५ बलमा ५५ रनको साझेदारी गरेका थिए।

नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज कुमारले पहिलो विकेटका लागि ७.२ ओभरमा ४१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। सुर्यांशुले २३ बलमा २ चौकासहित १८ रन बनाए। सन्तोष यादव २९, अशोक धामी ११ र दीपु कुमार ५ रनमा आउट भए।

एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गरेको थियो। नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो। नेपाल ह्याट्रिक गर्ने दाउमा छ।

यसअघि समूह चरणको खेलमा नेपालले मलेसियालाई फराकिलो अन्तरमा पराजित गरेको थियो ।

असार १९, २०८० मंगलबार १०:१०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।