साउदीले थप एक महिना तेल उत्पादन कटौती गर्ने, ह्वात्तै मूल्य बढ्नसक्ने अनुमान

साउदीले थप एक महिना तेल उत्पादन कटौती गर्ने, ह्वात्तै मूल्य बढ्नसक्ने अनुमान

एजेन्सी : साउदी अरेबियाले थप एक महिना कच्चा तेलको उत्पादनमा कटौती गर्ने भएको छ।

प्रतिदिन १० लाख ब्यारेल कच्चा तेल कटौती गरिरहेको साउदीले अगस्ट अन्तिमसम्म यसलाई जारी राख्ने साउदी अरेबियाको समाचार एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

यसै महिनादेखि लागू भएको कटौतीपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ।

साउदी अरबको ऊर्जा मन्त्रालयले भन्यो, ‘स्वैच्छिक रूपमा प्रतिदिन १० लाख ब्यारेल कटौतीको समय अगस्टसम्म लम्ब्याइएको छ। अगस्टमा तेल उत्पादन दैनिक ९० लाख ब्यारेल हुनेछ।’

साउदी ऊर्जा मन्त्रालयका अनुसार यो कटौती सरकारले अप्रिल २०२३ मा घोषणा गरेको कटौतीभन्दा फरक छ। तेल बजारमा स्थायित्व र सन्तुलन कायम राख्ने उद्देश्यले उत्पादन कटौती गर्ने निर्णय गरिएको साउदी सरकारले जनाएको छ।

साउदी अरेबिया बाहेक रुसले पनि कच्चा तेलको निर्यात कटौती गर्ने घोषणा गरेको छ। रुसले अगस्टमा प्रतिदिन १५ लाख ब्यारेल तेल निर्यात घटाउने भएको रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले जानकारी गराएका छन्।

साउदी र रुसको निर्णयपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्न थालेको छ। ब्लूमबर्गको रिपोर्ट अनुसार सोमबार बिहान लन्डनमा कच्चा तेलको मूल्य १.३ प्रतिशतले बढेर प्रति ब्यारेल ७६.३९ डलर पुगेको छ।

असार १८, २०८० सोमबार १८:४५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।