रक्सौलबाट काठमाडौं छिरेका ‘मास्टरजी’, जसले ४० वर्षसम्म पनि महिलाको कपडा सिउन जानेनन्
१३ वर्षको उमेरमा पहिलोपटक सियो समातेका आलमले अहिलेसम्म छोड्न सकेका छैनन्।
परिवारका ठूला सदस्य ‘अब्बा’ (बुवा) ज्यामी काम गर्थे। अनि अम्मी (आमा) भने सधैँ घरभित्रकै काममा व्यस्त। जेजति बाहिरको काम हुन्थ्यो सबै पुरुषले मात्र गर्ने। पहिल्यैदेखि महिला बाहिरको काममा नलाग्ने भएका कारण स्वाभाविक रूपमै उनको बहिनी र अम्मी सधैँ भित्रै हुन्थे।
घर बनाउन बिहार पुगेका उनका अब्बा प्रायः बाहिर नै। आलम घरको जेठा छोरा। पञ्चायतकालमा भर्खर स्कुल खुल्दा उनी पनि केही दिन गए।त्यसपछि भने पैसा तिर्नुपर्ने भयो, अनि पढाइ छाडे।
आफूहरू गरिब भएको पहिलो पटक उनले त्यतिबेला हो महसुस गरेको। पञ्चायतमा एउटा मात्र स्कुल हुँदा पढ्न पाएनन्।
तीन बहिनी र चार भाइका दाइ हुन् आलम। मुस्लिम समुदायमा यतिका सन्तान हुनु सामान्य नै मानिन्छ। अभिभावक नै भए उनी। जिम्मेवारी पनि बढ्यो।
घरमा खाने मान्छे धेरै थिए। उनका अब्बा एक्लैले काम गरेर धान्ने कुरा थिएन। त्यसपछि आलम पनि काममा निस्कनुपर्यो। तर, दिनभर तातो घाममा काम गर्नुपर्दा उनलाई गाह्रो भयो। सानै थिए आलम, त्यसैले उनका अब्बाले सिलाइको कामतिर उनलाई लगाए।
गाउँभरि सिलाइको काम त हुन्थ्यो, त्यहीमध्ये एउटा गार्मेन्ट उद्योगमा उनका अब्बाले उनलाई सिलाइ सिकाउन पठाए।
‘हाम्रो अब्बा धुपमा काम गर्ने। घर बनाउने। अनि उनीहरू भन्छ (भन्थ्यो) कि मेरो छोरालाई सिलाइ सिकाउने। घरमा बसेर सिकाउँछ। अनि आराम हुन्छ। यो अलि सजिलो हुन्छ। त्यै भएर हामीले सिलाइ सिकेको,’ आलमले एकै श्वासमा भने।
‘काठमाडौंमा धेरै काम हुन्छ’
त्यसपछि उनको ‘सजिलो काम’ को दैनिकी शुरू भयो। हरेक दिनजसो उनको हातमा सियो बिझ्थ्यो। तर, उनलाई अब्बाले घाममा गरेको दुःखभन्दा यही सजिलो लाग्थ्यो।
उनी घरबाट खाना खाएर सिलाइ सिक्न जान्थे। अनि फेरि घर आएर खाना खान्थे। यसरी नै उनको चार वर्ष त्यही गार्मेन्टमा बित्यो। त्यति समयसम्म सिलाइ सिक्दा उनले पाएको भनेको दिउँसो खाजा खाने समयमा एक सुका मात्र हो।
त्यस बेला उनले काठमाडौंका धेरै कुरा सुनेका थिए। यहाँ धेरै काम हुन्छ। पैसा पनि बढी पाइन्छ। बिहारको जस्तो गर्मी हुँदैन।
रक्सौलबाट भारतको राजधानीभन्दा नजिक नेपालको राजधानी पर्ने हुँदा त्यहाँको धेरै मानिस कामका लागि अहिले पनि काठमाडौँ आउने गर्छन्। ईदमा गाउँलेहरूले टन्नै काठमाडौंको कुरा बोकेर ल्याउँथे। त्यसबेला आलमले पनि ‘काठमाडौं जान पाए हुने’ भन्ने सोचिसकेका थिए।
नभन्दै उनीहरूको गार्मेन्टले सय जना कामदार काठमाडौं लाने भयो। त्यसमा आलमको पनि नाम आयो। अब उनी पनि काम गर्न परदेश जाने भए। खुशी हुँदै नेपाल आए।
यहाँ पनि सिलाइ नै गरिरहे। सिलाइमा मज्जाले हात नबसेसम्म कटिङमा जान पाइँदैन थियो। कटिङ पनि जानिसकेपछि भने कोही पनि ‘मास्टर जी’ कहलिन्थे। काठमाडौं आएको लामो समयसम्म उनले कटिङ सिक्न पाएका थिएनन्।
यस पेशामा उनको करिब चार दशक हुन लागिसक्यो। तर, ‘मास्टर जी’ भएको भने दुई दशक मात्र हुन लाग्यो।
‘सन् १९८४ मा हामी यहाँ आएको। यहाँ त धेरै राम्रो थ्यो नि! यहाँ पनि धेरै गार्मेन्ट थ्यो। काम धेरै हुन्थ्यो,’ यहाँ आएको पल सम्झिँदै उनले भने, ‘यहाँको गार्मेन्ट फेरि इन्डिया नै गयो। हामी गएन। यतैको गार्मेन्टमा काम गरेको। अब यतै मनपर्छ। रमाइलो पनि छ। अलि-अलि कमाइ पनि। बच्चाहरू पनि पाल्न सक्छु। रक्सौलमा त अहिले यति काम छैन नि! चाडको बेलामा जान्छु। केही दिन बसेर आइहाल्छु।’
‘साथीलाई गरेको व्यवहार देखेर कतै जाने आँट आएन’
धेरै जना सिलाउने भएका कारण साहु कुन हो? भन्ने समेत थाहा नहुने उनले बताए। त्यस बेला उनीहरूको कुरा हुने भनेकै स्टाफ म्यानेजरसँग मात्र रहेछ। पहिला मधेश, इन्डियन भन्ने बित्तिकै नराम्रो व्यवहार हुन्थ्यो। तर, आलमले त्यस्तो भोग्नुपरेन। सहकर्मीहरूले भोगेको सुन्दा भने आफूलाई डर लागेको उनी बताउँछन्।
‘पहिला हामीलाई मधेसी भनेर हिर्काइदिन्थ्यो। अहिले त्यस्तो छैन। मलाई त त्यस्तो भनेन तर, मेरो साथीहरूले मलाई सुनाउँथ्यो। हामी त यता उता जाँदैन। आफ्नो काम गर्ने। कोठामा जाने। शनिबार चै पिक्चर हेर्न जान्थेँ। फाल्तु समयमा जाँदा त मान्छे भेटाउँछ, हिर्काउँछ।’
उनी अहिले पनि त्यति धेरै ठाउँमा गएका छैनन्। चिया खानका लागि नजिकैको चिया पसलमा जान्छन्। पहिला नमाज पढ्न घण्टाघर नै पुग्नुपरे पनि अहिले ताहाचलकै पुलपारि मस्जिद जान्छन्।
आलम निकै धार्मिक स्वभावका छन्, त्यै भएर उनले महिलाको कपडाहरू बनाउन जानेका छैनन्। गाउँमा महिलाको कपडा पुरुषले छुन नहुने भन्ने थियो। अनि उनले पुरुषको कपडा सिलाउन मात्र सिके।
कुर्ता सिलाउँछन्, त्यो पनि पुरुषले लगाउने मात्र। विद्यार्थीका सर्टहरू सबै एउटै हुने भएर त्योचाहिँ सिलाउँछन्। उनले मात्र हैन, उनका छोरा र स्टाफहरूले पनि महिलाको कपडा सिलाउन जानेका छैनन्। अहिलेसम्म महिलाको कपडाको अर्डर पनि नआएको आलम बताउँछन्।
उनका जेठा छोराको त झन् बुटिक नै छ। तर, पुरुषका लागि हुने मात्र।
नेपालमा गार्मेन्टको सिस्टम भएसम्म काम गरेको बताएका आलमले त्यसपछि भने अर्डरअनुसार आफ्नै गोदाममा काम गर्न थाले। धेरैजसो असनमा भोटबाट मान्छे आउने हुँदा उनले लामो समय ज्याकेट बनाउने काम गरे। पछि भने स्कुल र कलेजको ड्रेस बनाउन थाले।
उनले आफ्नै सिलाउने ठाउँ बनाएको पनि धेरै भएको छैन। नरदेवीमा बस्दै आएका उनी रामघाट हुँदै अहिले भने ताहाचलमा पुगेका छन्।
व्यापारमा अब छोराहरूलाई जिम्मा दिने तयारी
विहान उठ्ने बित्तिकै नुहाएर, नमाज पढेर, चिया खाएर काममा लागिहाल्छन् आलम। केही स्टाफ पनि राखेका छन्। अहिले एउटा छोराले पनि यतै बसेर सघाउँछन्। तर, अहिले यसको बजार पनि कम भएको उनले अनुभव गरिरहेका छन्।
उनी भन्छन्, ‘मार्केट अहिले एकदम लुज छ। दम नै छैन। पहिला जुन कमायो, अहिले त्यति छैन। धेरै काम छैन। उधारो बढी लिन्छ।’
तर अहिले आफ्नै काम भएकाले भने धेरै सहज लागेको छ उनलाई। साउनमा क्याम्पसको अनि वैशाखमा स्कुलको नयाँ भर्ना हुने भएकाले त्यस समयमा भने उनीहरूलाई भ्याइनभ्याइ हुन्छ।
हरेक वर्ष फरक-फरक स्कुलको अर्डर आउने गर्छ। सिधै स्कुलभन्दा पनि पसलबाट अर्डर आउने गरेको उनले बताए। कपडा पनि पसलले नै दिन्छ। उनीहरूले त मात्र सिलाएर तयार पारेर दिने हो।
एउटा सिजनमा दुई हजारसम्म कपडाको अर्डर आएको उनले याद गरेका छन्। लकडाउनको समयमा भने उनको काम ठप्पै भयो।
‘भूकम्पले भन्दा पनि बढी लकडाउनले गाह्रो भयो। हामी त सबै छोडेर भाग्यो। ऋण लाग्यो। अहिलेसम्म तिर्न सकेको छैन’, उनले सुनाए।
उनका श्रीमती र साना छोराछोरी रक्सौलमै छन्। आलमले पनि आफ्नो अब्बाले जस्तै धेरै सन्तान पाए। पाँच छोरी अनि चार जना छोरा। उनकी श्रीमती गाउँमै घरको काम गर्छिन्। दुई-दुईटा छोरा र छोरीको बिहे गराइसके।
अरू छोराछोरी भने काम गर्छन्, अनि सानो त पढ्दै छ।
‘पढेलेखेको मान्छे हामी थिएन। दिमाग त्यति थिएन। यस्तो महँगाइ जमाना आउँछ कसैलाई थाहा भएन के गर्ने?’, उनले हाँस्दै भने।
जबसम्म सक्छन्, यहि काम गर्न चाहन्छन् आलम। यही सिलाइलाई बढाएर ठूलो बनाउने इच्छा पनि नभएको हैन उनको। तर, अब सबै छोराहरूको जिम्मामा छोड्न चाहन्छन्। त्यही भएर उनी छोराहरूले काम गरेको हेरेर बस्छन्। उनीहरूलाई सघाउँछन्। कटिङ गरेपछि पनि टाँक लगाउने काममा उनीहरूलाई मद्दत गरेर बस्छन्।
असार १८, २०८० सोमबार १८:०७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।