चलचित्र विकास बोर्डको वार्षिकोत्सव नयाँ कलाकारले गरे 'बहिष्कार'
काठमाडौँ : नेपाली चलचित्रकर्मी सरकारी संस्था चलचित्र विकास बोर्डले असार १६ गते शनिवार आफ्नो २३ औँ वार्षिकोत्सव मनायो। उत्सवमा सहभागीताका लागि मध्यान्ह ३ बजेको समय तोकेर पाहुनालाई निमन्त्रणा गरिएको थियो।
तोकिएको समयमा नै वरिष्ठ कलाकार मिथिला शर्मा, भुवन चन्द, चैत्य देवी, वसुन्धरा भुसाल, कृष्ण मल्ल, शर्मिला मल्ल, लक्ष्मीनाथ शर्मा, दीपा श्री निरौला लगायतका कलाकारहरू कार्यक्रममा आए।
उनीहरू कार्यक्रम हलमा आइपुग्दा कार्यक्रमको सुरुवात हुने छाँटकाँट नै थिएन। उनीहरू आ–आफै गफिएर एक घण्टा समय कटाए। कार्यक्रमकी प्रमुख अतिथि सञ्चारमन्त्री रेखा शर्मा ४ बजेतिर बोर्डमा आइपुगिन्। अनि बल्ल कार्यक्रम सुरु भयो।
कार्यक्रममा नेपालको पहिलो फिल्म दाबी गरिने ‘आमा’ की अभिनेत्री देखि दीपाश्रीको पुस्तासम्म उपस्थिति थियो। तर,पछिल्लो समयमा चलेका कलाकार देखिएनन्। कार्यक्रममा उपस्थित भएका अधिकांशले नयाँ पुस्ताका कलाकार नदेखेपछि अनेक आङ्कलन काँटे।
कोही कोहीले आफूलाई स्टार ठानेर उपस्थिति नभएको होला भन्दै थिए। बोर्ड अध्यक्ष समेत रहेका भुवन केसीका छोरा अनमोल केसी पनि आएनन्।
पछिल्ला पुस्ताका प्रदीप खड्का, पुष्प खड्का लगायतका अभिनेताको उपस्थिति देखिएन। यस बारेमा अभिनेता पुष्प खड्कासँग कुरा गर्दा उनले आफूलाई निमन्त्रण नै नआएको बताए। उनले भने,‘केही खबर नै पाइएन। नत्र गइन्थ्यो होला।’
फिल्म ‘क्यामिनो’को वर्कसपमा व्यस्त रहेका अभिनेता प्रदीप खड्का कार्यक्रममा सहभागी भएनन्। प्रदीपले फिल्मको वर्कसपमा व्यस्त रहेकोले सहभागी नभएको जानकारी दिए। उनका सहयोगी सन्तोष कार्कीले निमन्त्रण पत्र आएको या नआएको बारेमा आफूलाई जानकारी नभएको बताए।
चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले ४ सय भन्दा बढिलाई निमन्त्रण गरिएकोमा नयाँ पुस्ताका कलाकार सहभागी नभएको बताए।
उनले भने,‘अधिकांश कलाकारलाई निमन्त्रण पत्र पठाइएको छ। त्यसमा अधिकांश कलाकार तथा चलचित्रकर्मीको उपस्थिति रहेको थियो ।तर, प्रदीप लगायतका नयाँ कलाकारहरूको उपस्थिति भएन। सायद फिल्मको कार्य व्यस्ततामा रहनुभयो होला।’
उनले नयाँ पुस्ताका कलाकारहरू प्राय कार्यक्रममा बोलाए पनि आउन छाडेको दाबी गरे।
असार १८, २०८० सोमबार १५:१९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।