कानुन व्यवसायीको अराजक व्यवहार, नासु र अधिवक्ताको विवादमा सङ्गठित दबाब

कानुन व्यवसायीको अराजक व्यवहार, नासु र अधिवक्ताको विवादमा सङ्गठित दबाब
तस्बिर साभार : इकान्तिपुरडटकम

काठमाडौँ :  उच्च अदालत पाटनकी नायब सुब्बा र अधिवक्ताको विवादलाई सङ्गठित रुपदिँदै कानुन व्यवसायीहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। असार १३ गतेको घटनालाई लिएर नेपाल बार एसोसिएसनको अगुवाइमा सोमबार कानुन व्यवसायीहरू विरोध प्रदर्शनमा उत्रिँदै अदालतको नियमित काम कारबाही नै प्रभावित बनाए।

असार १३ गते उच्च अदालत पाटनमा त्यहाँकी नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबिचको विवाद हुँदा लामिछाने पक्राउ परेका थिए। लामिछानेले सक्कली मिसिल माग्दा विवाद भएर आफूमाथि हातपात भएको दाबी गरिरहेका छन् भने तामाङले आफूमाथि कुटपिट भएको दाबी गरेकी छिन्।

तामाङले अदालतमा दिएको निवेदनको आधारमा लामिछाने पक्राउ परेका थिए। उता तामाङ पक्षकाले लामिछानेले कुटपिट गरेको दाबी गरिरहेका छन्।

घटना सामान्य देखिए पनि यसैलाई आधार बनाएर नेपाल बार एसोसिएसन नै आन्दोलित हुँदै अदालत परिसर बाहिर विरोध प्रदर्शन गरेर दैनिक न्याय प्रक्रिया नै प्रभावित बनाइरहेका छन्। प्रदर्शनमा शम्भु थापा लगायतका वरिष्ठ अधिवक्ताहरू समेत संलग्न छन्।

कर्मचारी र अधिवक्ताबिचको विवाद बार-बेन्चको द्धन्द्धतिर बढेपछि लामिछाने आइतबार साधारण तारेखमा छुटी सकेका छन्। तर बार एसोसिएसन भने अदालतको दैनिक कामै प्रभावित पार्ने गरी आन्दोलित भएको छ।

उनीहरूले घटनाको छानबिन, दोषीलाई कारबाही अनि लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेका छन्।

असार १८, २०८० सोमबार १४:३८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।