प्रचण्डले भने, 'जनताको जीवनस्तर परिवर्तन गर्न कोही विश्वासका साथ आए ठाउँ छाडिदिन्छौँ'

प्रचण्डले भने, 'जनताको जीवनस्तर परिवर्तन गर्न कोही विश्वासका साथ आए ठाउँ छाडिदिन्छौँ'
फाइल तस्वीर

काठमाडौँ : फरक र जनताको जीवनस्तरमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आए आफूहरूले तिनलाई ठाउँ छाडिदिने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्। 

चाबहिलस्थित गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले तर त्यस्तो स्थित भइनसकेको पनि बताए।  

'हाम्रोभन्दा राम्रो विचार लिएर आउने, हाम्रो भन्दा बढी त्याग तपस्या गरेका दलहरू कोही अगाडि आउने। हाम्रोभन्दा राम्रो एजेन्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने हामीलाई तिनीहरूलाई सम्मान गर्न उनीहरूका लागि ठाउँ छोड्दिन केही गाह्रो छैन। तर म हजारौँ पटक विचार गर्छु, यस्तो स्थिति छैन।'

आफूहरूले अहिले अलिकति पनि हेलचेक्र्याइँ गर्ने हो भने यो सिस्टम मात्र नभई राष्ट्रकै भविष्य दुर्घटनामा पर्ने उनको भनाइ थियो। 'अहिलेको विश्व राजनीतिक परिवेशलाई हेर्दा पोलोराइजेशनको जो प्रक्रिया दुनियाँमा चलिराख्या छ त्यललाई हेर्दा र देशभित्रै जस्ता प्रवृत्ति र अराजकता देखिँदैछ, त्यसलाई हेर्दा हामीले अलिकति हेलचेक्र्याइँ गर्ने हो भने देशकै भाग्य भविष्य दुर्घटनामा पर्ने देखिन्छ,' उनले भने।  

उनले सामाजिक सञ्जालमा गाली गरेर नभई राष्ट्र निर्माण र लोकतन्त्रको रक्षाका लागि आत्मसमीक्षासहित समर्पित भई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताउँदै यस सन्दर्भमा कोइरालाको उच्च साहस र दृढ इच्छाशक्तिबाट प्रेरणा मिल्ने पनि बताए। 

असार १८, २०८० सोमबार १२:१२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।