ह्वाइट सन निर्देशक दीपकको फिल्ममा निकिता र दयाहाङ
काठमाडौँ : सन् २०१७ की मिस नेपाल निकिता चाण्डक र अभिनेता दयाहाङ राई एकै फिल्ममा देखिने भएका छन्। दीपक रौनियारको निर्देशनमा बन्न लागेको फिल्म ‘राजागन्ज’मा निकिता र दयाहाङ मुख्य भूमिकाका लागि तय भएका हुन्।
आइतबार निर्माण कम्पनी बाँसुरी फिल्म्सले वक्तव्य जारी गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो। रौनियारले ‘हाइवे’ र ‘ह्वाइट सन’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन्।
रौनियारको यो फिल्म रामबाबु गुरुङले लगानीमा बनाउन लागेका हुन्। फिल्ममा निकिता र दयाहाङको अलवा आशा मंगराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल र पुष्पा यादवको अभिनय रहनेछ ।
अभिनेत्री निकिताले यस अघि अभिनेता बिराज भट्टद्वारा निर्देशित फिल्म ‘साङ्लो’बाट अभिनयमा डेब्यू गरेकी थिइन्। फिल्म ‘राजागन्ज’ उनको दोस्रो फिल्म हो।
आगामी साउन १२ गतेबाट छायाङ्कनमा निस्किने तयारीमा रहेको निर्माण पक्षले जानकारी दिएको छ।
असार १७, २०८० आइतबार २१:२२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।