ललिता निवास प्रकरणमा काठमाडौँका महानगरका अधिकृतसहित तीन जना पक्राउ

ललिता निवास प्रकरणमा काठमाडौँका महानगरका अधिकृतसहित तीन जना पक्राउ

काठमाडौँ : ललिता निवासको जग्गा अपचलनमा सरकारी कागज किर्तेमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँ महानगरपालिकामा कार्यरत अधिकृतसहित तीन जनालाई आइतबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिकाका अधिकृत शिवजी भट्टराई समेत छन्। उनी २०६० मा काठमाडौँ महानगरपालिका– ४ का वडा सचिव थिए।

ब्युरोले घमनकुमार कार्की र बाबुराजा महर्जनलाई समेत पक्राउ गरेको छ। कार्की २०६७ मा नापी कार्यालयमा कार्यरत थिए। महर्जन भने नक्कली मोही भएको प्रहरीको दाबी छ।

ब्युरोले सो जग्गा प्रकरणमा सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धान सुरु गर्दै यस अगाडि सात जना पक्राउ गरिसकेको छ। सातमध्ये तीन जनाले अदालतबाट पक्राउविरुद्ध निषेधाज्ञा लिएकाले उनीहरू रिहा भए। भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङसहित चार जना प्रहरी हिरासतमा छन्।

असार १७, २०८० आइतबार १९:१२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।