जति गरे पनि अभिनेता आमेशलाई चिप्लाउन सकेनन् प्रकाशले, विगत कोट्याएर पारे हैरान

जति गरे पनि अभिनेता आमेशलाई चिप्लाउन सकेनन् प्रकाशले, विगत कोट्याएर पारे हैरान

काठमाडौँ : नायक तथा गायक आमेश भण्डारी अभिनय अनि गायन भन्दा पनि सम्बन्धका कारणले बेलाबखत चर्चामा छाइरहन्छन्। पछिल्लो समय अस्ट्रेलिया लागेपछि भने उनी मिडियामाझ गुमनाम बने।

गायिका समीक्षा अधिकारी केही समयमा लागि अस्ट्रेलिया गइन्। दिदीसहित अस्ट्रेलिया पुगेकी उनी र आमेशले सँगै टिकटक बनाएर पोस्ट गर्न थालेपछि पुन उनी चासोका विषय बने। आमेश आफ्नो कारण हैन कि गायिका समीक्षाका कारण चर्चामा आए।

यता समीक्षा तनावमा थिइन्। उनी फ्रेस हुन अस्ट्रेलिया पुगेकी थिइन्। उता जाँदा आमेशसँगको सम्बन्धलाई लिएर टीकाटिप्पणी सुरु भयो। उनी मौन नै बसिन्। आमेशले पनि दुवैको सम्बन्धबारे सार्वजनिक रूपमा केही बोलेनन्।

अहिले आमेश नेपाल आएका छन्। नेपाल आएसँगै उनी मिडियामा अन्तर्वार्ता दिन सक्रिय भए। उनले नयाँ फिल्ममा अभिनय गरेका छैनन्। केही म्युजिकमा काम गरिरहे पनि मिडियाले बोलाइहाल्ने गरी चर्चामा आएको छैन। तै पनि उनी मिडियाको प्रिय बनेको कारण उनै समीक्षासँगको सम्बन्धबारे केही बोलिहाल्छन् कि भन्ने लोभै देखियो।

दुई दिन अगाडि उनी कला सम्बन्धी एक टेलिभिजन टक शोमा देखिए। जहाँ उनले समीक्षासँगको सम्बन्धबारे मजाले खुलेर कुरा गरे। चिप्लाउने अङ्कलको रूपमा परिचित प्रकाश सुवेदीको बानी नै हो खाटो लागिसकेको घाउ कोट्याउने। उनले विवाहित एक अभिनेत्रीसँगको उनको हिजोको सम्बन्धबारे कोट्याएको कोट्याइ गरिरहे भाइरल हुनसक्ने कन्टेन्टको लोभमा। उनले निकै सन्तुलित उत्तर दिए। खोजे जस्तो उत्तर पाएनन्।

अनि उनी प्रवेश गरे समीक्षातिर। समीक्षा अस्ट्रेलियाबाट फर्किएपछि अहिले आफ्नो साङ्गीतिक यात्रामा सक्रिय भएकी छिन्। ब्याक टु ब्याक उनका गीतहरू आइरहेका छन् अनि चलिरहेका पनि छन्। सहानुभूति हैन, उनले समर्थन पाइरहेकी छिन्।

त्यो मेसोमा आमेशसँग समीक्षासँगको सम्बन्धबारे उनले बारम्बार कोट्याए। दिनभरि कल हुने गरेको झैँ गरेर मोबाइलै मागे कल रेकर्ड हेर्न। आमेश बाठा रहेछन्। उनले निकै सन्तुलित उत्तर दिए।

समीक्षासँगको आफ्नो सम्बन्ध सामान्य रहेको बारम्बार बताउँदा पनि विवाहबारे पटक-पटक प्रश्न आएपछि उनले विवाह भविष्यको कुरा रहेको तर समीक्षा जत्तिको स्ट्रोङ जीवन साथी पाए आफू भाग्यमानी हुने बताएर भाइरल प्रश्नको उत्तरमा पूर्णविराम लगाइदिए।

तै पनि युट्युबमा थम्बेल त त्यही बन्यो। को मन पर्छ सेग्मेन्टमा मेयरमा बालेन पनि देखाइएको थियो। आमेशले र्यापको समूहमाहुँदा बालेनलाई देखेको तर कुराकानी नभएको उत्तर दिएका थिए। टेलिभिजनको युट्युब च्यानलमा 'बालेन र म एउटै सर्कलमा थियौँ' भन्ने हेडलाइन राखियो। उनले कार्यक्रम आफ्नो व्यक्तिगत च्यानलमा पनि राख्ने गर्छन्। त्यसमा थम्बेल राखे समीक्षा र आमेशको वास्तविक कुरा के हो?

अब कुरा के हो भन्ने हेडलाइनै चल्ने भइगयो। युट्युब हो नि त!

असार १७, २०८० आइतबार १८:५४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।