तिनाउमा बाढी मापक यन्त्र, अब तटीय क्षेत्रका स्थानीय सुसूचित हुने

तिनाउमा बाढी मापक यन्त्र, अब तटीय क्षेत्रका स्थानीय सुसूचित हुने

बुटवल : पाल्पाबाट बग्दै आएको तिनाउ नदीले बर्सेनि तटीय क्षेत्रमा ताण्डव मच्चाउँछ। तर केही वर्षयता तिनाउको ‘बैँस’ कम छ। किनकि अनियन्त्रित नदी दोहनले तिनाउ गहिँरिदै गएको छ। 

तर वर्षायाममा भने तिनाउ उर्लिन्छ नै। त्यसैले तटीय क्षेत्रमा त्रास बढाउँछ। तटीय क्षेत्रका जनतालाई सूचना दिन तिनाउ नदीको बाढी मापन गर्न यन्त्र पाँच वर्षअघि दुई स्थानमा जडान गरिएको थियो।  

दोभान खोला र झुम्सा खोलाभन्दा तल राखिएको मापन यन्त्र २०७७ साउन १४ गते आएको बाढीले बगाएको बगाएको थियो।

तीन वर्षअघि बाढीले बगाएको तिनाउ नदीको दोभानमा रहेको बाढी मापन यन्त्र हालै मात्र जडान गरिएको छ। शनिबार बिहान मात्र तिनाउ नदीमा आएको बाढी र जोखिमबारे विभागले त्यही यन्त्रमार्फत सूचना प्रभाव गरी सतर्क रहन आग्रह गरेको थियो।

बाढी मापन यन्त्र जडान भएकै कारण शनिबार आएको बाढी विभागले रेकर्ड गर्न सकेको जल तथा मौसम कार्यालय भैरहवाका हाइड्रोलोजिष्ट इञ्जिनियर राजेशकुमार महतोले बताए। 

स्वचालित बाढी मापन यन्त्र जडान भएकाले सहजै सूचना पाउन र दिन सम्भव भएको महतोले बताए। 

०७७ साउन १४ गते राति ११ बजे तिनाउ नदीमा ८.५० मिटरसम्म बाढी आएको थियो। त्यही बाढीले यन्त्रलाई पनि बगाएको थियो। 

जल तथा मौसम कार्यालय भैरहवाका हाइड्रोलोजिष्ट महतोले ३ वर्षदेखि जडान हुन नसकेको यन्त्र जडान भएसँगै अब बाढीबारे छिटै तटीय क्षेत्रमा सूचना प्रवाह गर्न सकिने बताए।

तिनाउ नदीमा ०७७ साल साउनमा आएको बाढी ४ दशकपछिकै ठूलो मानिन्छ। त्यसअघि ०३८ सालमा तिनाउमा ठूलो बाढी आएको मानिन्छ। सो बाढीले बुटवल र दोभान क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो। 

०३८ सालमा बाढीले पूर्वपश्चिम राजमार्गको पक्की पुल बगाउनुका साथै २ सयभन्दा बढी मानिस बेपत्ता भएका थिए। १ सय भन्दा बढीको मृत्यु भएको थियो भने त्यतिबेला हजारौं हेक्टर धानखेत बगरमा परिणत भएको थियो। 

२०३८ सालसहित ठूला बाढीलाई हेरेर खतराको मापन गरी तिनाउमा वर्षा तथा बाढी मापन यन्त्र जडान गरिएको थियो। 
जलवायु विज्ञ डमिन्द्र दाहालले तिनाउ आसपाको क्षेत्रमा चुरेको खोंच धेरै भएकाले क्लाउड ब्रष्ट हुने सम्भावना रहेको बताए। 

चुरेको खोंच अत्यधिक वर्षा हुने क्षेत्र हो। वर्षापछि ठूलो पहिरो जाने र तिनाउ नदी थुनिएर फुट्दा आउने बाढीले गर्ने क्षतिबारे राज्यका निकाय संवेदनशील नभएका उनले बताए। 

चार वर्षअघि बाढीले बुटवल देवीनगर-बुद्धनगर जोड्ने झोलुंगे पूल बगाएको थियो। यो पुल बगाउनु पनि पहिरोले तिनाउ थुन्दा आएको बाढी नै कारण रहेको थियो।

असार १७, २०८० आइतबार १८:४९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।