गगनलाई परराष्ट्रमन्त्री एनपी साउदको जवाफ : 'क्षमता नभए एकै व्यक्तिलाई पाँच पटक लट्री पर्दैन'

गगनलाई परराष्ट्रमन्त्री एनपी साउदको जवाफ : 'क्षमता नभए एकै व्यक्तिलाई पाँच पटक लट्री पर्दैन'

काठमाडौँ : एकै व्यक्ति कति पटक प्रधानमन्त्री बन्ने भन्ने आफ्नै पार्टीका महामन्त्री गगनकुमार थापाको प्रश्नको उत्तर दिँदै परराष्ट्रमन्त्री एनपी साउदले पार्टी सभापति शेरबहादुर देउवा योग्यताकै आधारमा पाँच पटक प्रधानमन्त्री बनेको दाबी गरेका छन्।

सार्वजनिक कार्यक्रमहरूमा गगनले पछिल्लो समय एकै व्यक्ति पटक-पटक प्रधानमन्त्री बन्ने प्रवृत्तिको विपक्षमा बोल्दै आएका छन्। उनको अभिव्यक्ति आफ्नै पार्टीका सभापतिप्रति समेत लक्षित छ।

आइतबार सुदूरपश्चिमको अछाम पुगेका उनले देउवा भाग्यले नभई क्षमताले पाँच पटक प्रधानमन्त्री भएको दाबी गरे।

‘धेरै मान्छेले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन्। उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन। ५ पटक लट्री परेको मान्छे पाइन्छ?' उनले प्रश्न गर्दै भने' ‘देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो। पार्टीको विचारले हुनुभएको हो।’

उनले कार्यक्रममा नयाँ दलप्रति लक्षित टिप्पणी समेत गरेका थिए। नयाँ दलको सङ्गठन भनेको सामाजिक सञ्जाल रहेको भन्दै अर्को पार्टीका कार्यकर्ताहरूको भोटको भरमा रहेको टिप्पणी गरेका थिए।

पार्टी पद्धति र सङ्गठन नभएको र आफ्नै कार्यकर्ता समेत नभएकाले देश चलाउन नसक्ने र पटक-पटक विवादमा आउनुको कारण पनि यही भएको उनको तर्क थियो।

असार १७, २०८० आइतबार १८:०८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।