नेपालविरुद्ध यूएईको कमजोर प्रदर्शन, सन्दीपले लिए २ विकेट

नेपालविरुद्ध यूएईको कमजोर प्रदर्शन, सन्दीपले लिए २ विकेट

आईसीसी विश्वकप छनोट २०२३ छनोटको क्वालिफायरअन्तर्गत नेपालले यूएईसँग प्लेअफ खेलिरहेको छ। 

टस हारेर ब्याटिङमा उत्रिएको यूएईले कमजोर प्रदर्शन गरेको छ। ताजा अवस्थामा २९ ओभर सकिँदा १०६ रन बनाएको उसको चार विकेट झरिसकेको छ। नेपालका लागि सन्दीप लामिछानेले २ तथा करन केसी र गुल्सन झाले १/१ विकेट लिए।

यूएईका ओपनर आसिफ खानलाई करन केसीले अर्जुन साउदबाट क्याच आउट गराए भने यूएईका कप्तान विर्त्या अरविन्दलाई गुल्सन झाले बोल्ड आउट गरे। त्यस्तै रामिज सहजादलाई सन्दीपले एलबीडब्ल्यू धरापमा पारे भने अर्यानास शर्मालाई सन्दीपले नै आरिफ शेखबाट क्याच आउट गराए। 

जिम्बाबेको हरारेमा रहेको टाकासिंगा क्रिकेट क्लबको स्टेडियमा नेपाली समयअनुसार पौने एक बजे खेल सुरु भएको हो। नेपाल र यूएई दुवै विश्वकप छनोटबाटै बाहिरिसकेका छन्। 

नेपालले समूह 'ए' मा रहेर अमेरिकाविरुद्ध मात्र जित निकालेको थियो। चारमध्ये नेपालले ३ खेलमा पराजय भोगेको थियो। यूएई भने समूहमा 'बी' मा छ। उसले भने खेलेका चारै खेलमा हार बेहोरेको थियो। 

आजको खेलको विजेता टोलीले सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। पराजित हुने टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

दुई समूहबाट सुपर सिक्समा जम्बाबे, श्रीलंका, वेस्ट इन्डिज, ओमान, नेदरल्याण्ड्स र स्कटल्याण्ड पुगेका थिए। वेस्ट इन्डिज भने सुपर सिक्सबाट बाहिरिँदै २०२३ को एकदिवसीय क्रिकेटमा सहभागी हुने अवसरबाट वञ्चित भएको छ। 

असार १७, २०८० आइतबार १४:५७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।