आफूखुसी ऋणको ब्याज बढाएर साउँसँग जोड्ने बैंकलाई अनुचित व्यवहारमा कारबाहीमा ल्याउन सांसद सोविताको माग

आफूखुसी ऋणको ब्याज बढाएर साउँसँग जोड्ने बैंकलाई अनुचित व्यवहारमा कारबाहीमा ल्याउन सांसद सोविताको माग

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बैङ्कले ऋणमा लगाउने ब्याज नियन्त्रण सम्बन्धी पनि कानुन बनाउन माग राखेकी छिन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले' बैङ्कले एक दरमा ऋण दिएर पछि आफू खुसी बढाउँदै लैजाने गरेको देखिएको भन्दै त्यसलाई समेत नियमन हुने गरी कानुन आउनुपर्ने धारणा राखेकी हुन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्' बैङ्कले ऋणको ब्याज आफूखुसी बढाउने अनि ब्याजलाई साउँमा जोडेर ब्याज लिने गरेको धेरै गुनासाहरू आएका छन्। अनुचित लेनदेन मात्र हैन बैङ्कको व्यवहारलाई पनि कानुनमा समेट्नुपर्छ।'

उनले वित्तीय संस्थाको यस्तो व्यवहारले आत्महत्या गर्नेसम्मको अवस्था निम्त्याउने गरेको भन्दै बैङ्किङ च्यानललाई समेत अनुचित लेनदेनमा समेट्न माग गरिन्।

संसद्मा उनले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन सम्बन्धी ऐन टेबल भएको विषयमा धारणा राखेकी थिइन्। उनले प्रतिनिधि सभालाई सरकारले छायामा पारेको हो कि भन्ने भान परेको बताएकी थिइन्।

प्रतिनिधि सभा सरकारको कठपुतली नभएको भन्दै अधिवेशन अगाडि नै विधेयक दिनुपर्ने तर छलफल हुने विधेयक सांसदहरूसँग नभएको भन्दै प्रश्न सोधिन्' के को आधारमा सैद्धान्तिक छलफल गर्ने?'

के-के विषयको विधेयक आउँदै छ त्यसबारे पहिल्यै सांसदहरूलाई लिस्ट दिनुपर्ने उनको माग थियो। मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकले मिटरब्याजी पीडितसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू राखेको छ।

असार १७, २०८० आइतबार १४:३२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।