६ महिनामा भित्रिए चार लाख ७६ हजार पर्यटक, गत वर्षको यही अवधिभन्दा झण्डै सय प्रतिशत बढी

६ महिनामा भित्रिए चार लाख ७६ हजार पर्यटक, गत वर्षको यही अवधिभन्दा झण्डै सय प्रतिशत बढी

काठमाडौँः सन् २०२३ को ६ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक भित्रिएका छन्। 

सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ। 

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार आठ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा दुई लाख ४० हजार नौ सय एक जना विदेशी पर्यटक नेपाल आएका थिए। 

यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको संख्या गत वर्षको तुलनामा ९७.७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम हो। 

बोर्डका अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुईसय ४४, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सातसय ७३ र मेमा ७७ हजार सात सय तीन विदेशी पर्यटक नेपाल आएका थिए। साथै जुनमा ७२ हजार दुईसय ५० जना विदेशी पर्यटक नेपाल आएका छन्।

जुन महिनामा भारतबाट ३८ हजार आठसय ४५, अमेरिकाबाट आठ हजार चारसय ७०, चीनबाट चार हजार तीनसय ४३, बङ्गलादेशबाट दुई हजार चारसय दुई, यूकेबाट एक हजार नौसय ९२, अष्ट्रेलियाबाट एक हजार छ सय ३९, मलेसियाबाट एक हजार ७९, दक्षिण कोरियाबाट आठ सय ८८, जापानबाट सातसय ६४ र भुटानबाट सात सय दुई जना पर्यटक नेपाल आएका छन्। 

असार १७, २०८० आइतबार १२:४३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।