विगतका अनुभवबाट शिक्षा लिएर कम्युनिष्टहरू एकताबद्ध हुनुपर्दछः प्रधानमन्त्री

विगतका अनुभवबाट शिक्षा लिएर कम्युनिष्टहरू एकताबद्ध हुनुपर्दछः प्रधानमन्त्री

भक्तपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत अनुभवबाट शिक्षा लिएर कम्युनिष्ट एकीकरणका लागि एकताबद्ध हुन आह्वान गरेका छन्। 

३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै उनले आफूहरूले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिष्ट एकताका लागि पहल गरेको बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले फेरि नेकपातिरै फर्कने भनेका छौं। फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेका छौं।’

देशका वामपन्थीहरूलाई एकतावद्ध गरेर आम श्रमजीवी जनताको हित र नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधीनताको सुदृढीकरणका निम्ति अझ गम्भीरतापूर्वक अगाडि बढ्ने उनले आफूहरूको संकल्प रहेको बताए। 

प्रचण्डले भने, ‘२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले अहिले देशव्यापी स्वरुप लियो। देशको पहिलो शक्ति बनिसक्यो। यो शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अगाडि बढ्न सक्छ भन्ने ठानेर मैले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरूलाई एकताबद्ध गर्यो भने छिटोभन्दा छिटो हामीले आर्थिक समृद्धितिर जान सकिन्छ र समाजवाद तिर पनि देशलाई डोहोर्याउन सकिन्छ भनेको थिएँ। र, कम्युनिष्ट एकता भयो पनि।'

देशको सबैभन्दा ठूलो शक्ति झण्डै दुई तिहाई प्राप्त भएर जनतामा ठूलो उभार र उत्साह देखिए पनि त्यसलाई बचाउन नसकिएको उनले बताए। 'त्यो एकतालाई बचाएर राष्ट्र, जनता र समाजवादको हितमा प्रचुर सम्भावना थियो, त्यो बचाउन सकिएन। म यसमा कसैलाई दोषारोपण गर्दिनँ। हामी एकपटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ,' प्रचण्डले भने, 'किनकि विश्वभरिकै कम्युनिष्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष विभाजन र रुपान्तरणबाट गुज्रिँदै अगाडि बढेको छ। नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अगाडि बढेको छ।’

असार १७, २०८० आइतबार १२:३५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।