'विपद्बाट बच्न रैथाने सीपको संरक्षण आवश्यक'

'विपद्बाट बच्न रैथाने सीपको संरक्षण आवश्यक'

ललितपुर : विपद्को क्षति न्यूनीकरणका लागि परम्परागत ज्ञान र सीपलाई आधुनिक शिक्षासँग फ्युजन गरेर संरचनाहरू निर्माण गर्नुपर्ने धारणा विज्ञहरूले राखेका छन्।

ललितपुरस्थित लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीले आयोजना गरेको ‘स्थानीयस्तरमा विपद् व्यवस्थानपन’बारे सेमिनारमा पूर्वशिक्षामन्त्री देवेन्द्रराज पौडेलले व्यवस्थित बस्ती विकास कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए।

‘खोला किनारमा बस्ती बनाइएको छ, भीरमा बस्ती छ। त्यहाँ सडक बनाउनुको साटो ती  बस्तीलाई जोखिमरहित ठाउँमा सार्ने र व्यवस्थित गर्ने काम प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने,‘ आधुनिक शिक्षाका नाममा कंक्रिटका घर बनाएर मात्रै क्षति न्यूनीकरण हुँदैन। स्विजरल्यान्ड, जापानमा काठको घर बनाउन हुन्छ भने हाम्रोमा किन हुँदैन ? ढुंगा माटोको प्रयोगबाट पनि टिकाउ घर बनाउन सकिन्छ। यसबाट पनि बलियो घर बनाउन सकिन्छ। हाम्रो ध्यान स्थानीयस्तरमा उपलब्ध स्रोत साधनको प्रयोग गरेर बलियो संरचना बनाउनेतर्फ जानुपर्छ।’ 

बागमती प्रदेश सरकार प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रोफेसर डा. नरविक्रम थापाले शैक्षिक कोर्सलाई संशोधन गर्नुपर्ने समय आएको बताए।

‘पश्चिमा ज्ञान र सीपले मात्रै काम गर्दैन। यसलाई रैथाने ज्ञानसँग जोड्नुपर्यो। ग्राफ्टिङ गरेका बिरुवाले उन्नत फल दिएजसरी नै फ्युजन गरिएको त्यो ज्ञानले पनि राम्रो नतिजा दिन्छ,’ उनले भने,‘रैथाने ज्ञान र सीपलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा अर्बन प्लानरहरूले बुझ्न जरुरी छ। त्यसैले अब हाम्रो शैक्षिक कोर्सलाई पनि रिभाइज गर्नुपर्ने समय आएको छ।’ 

मुख्य वक्ताका रुपमा बोल्दै नास्टका पूर्वउपकुलपति प्रोफेसर जीवराम पोखरेलले विपद् व्यवस्थापनका लागि दीर्घकालीन योजनाहरू बनाउनुपर्ने बताए। ‘पर्याप्त योजना बनाएर त्यसलाई उचित रुपमा कार्यान्वयन गर्नुपर्छ। रैथाने ज्ञानलाई अद्यावधिक गरेर प्रयोगमा ल्याइयो भने अहिले पनि काम लाग्छ,’ उनले भने,‘हाम्रो स्थानीयस्तरमा ढुंगा-माटोले निर्माण गर्ने घर, पोखरीलगायत आफ्नै महत्व छ। यी महत्वबारे पनि अब पढाइ हुनुपर्छ।’ 

प्रोफेसर डा. मुरली गोपाल रन्जितकार, वरिष्ठ इन्जिनियर डोरबहादुर योगी तथा एनसेटका वरिष्ठ इन्जिनियर कपिल भट्टराईले विपद् न्युनीकरणबारे आ-आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए।

भूकम्प र बाढी-पहिरोबाट बच्नका लागि आवश्यक संरचना, उद्धार तथा पुनर्स्थापनामा खेल्नुपर्ने भूमिकालगायत विविध विषय कार्यपत्रमा समावेश छन्।

सामुदायिकस्तरमा आइसोलेसन सेन्टर बनाएर कोभिड महामारीको समय झन्डै ५ सय बिरामीलाई सेवा दिने चमेली महर्जन र रामदेवी महर्जनलाई कार्यक्रममा लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीका प्रिन्सिपल प्रोफेसर डा. खेतराज दाहालले सम्मान गरे।

असार १७, २०८० आइतबार ०९:२६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।