डा. चुममायाको उपचार अनुभवः 'म नर्स हैन, डाक्टर हो' भन्दा न बिरामीले पत्याए न बिरामीका आफन्तले
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चुममाया पुनले सात वर्षअघि फिलिपिन्सबाट प्रसूति तथा स्त्रीरोग विषयमा एमडी अध्ययन गरेर नेपाल फर्किएपछिको एउटा रमाइलो प्रसंग कहिल्यै भुल्दिनन्।
पढाइ सकेर फर्किएपछि उनले पोखराको एउटा क्लिनिकमा काम गर्न थालेकी थिइन्। त्यो क्लिनिकमा एक दिन स्वास्थ्य शिविर राखिएको थियो। शिविरमा २२ वर्षकी एक युवती स्वास्थ्य परीक्षणका लागि पुगिन्।
स्वास्थ्य परीक्षणपछि युवती गर्भवती भएको पत्ता लाग्यो, तर तिनलाई गर्भवती छु भन्ने थाहै थिएन, त्यसतर्फ सोचेकी पनि थिइनन्। उनी आठ हप्ताको गर्भवती भएकी थिइन्। जाँचपछि युवती खुसी भइन्।
ती युवती निरन्तर फलोअपका लागि चुममायाकहाँ आइरहन्थिन्। उनको सुत्केरी हुने समय नजिकियो। तर, डा. चुममायाले काम गरेको क्लिनिकमा सुत्केरी हुने सुविधा थिएन।
ती युवती गण्डकी अस्पताल गइन्। त्यहीँ बच्चा जन्माइन्। उनको पहिलो बच्चा थियो। बच्चा जन्मिएपछि ती युवतीले डा. चुममायाको उपचारप्रति कृतज्ञ हुँदै डिस्चार्ज हुने बेलामा एउटा सानो र सुन्दर मूर्ति उपहारस्वरूप दिइन्।
त्यो मूर्ति गर्भवतीजस्तै देखिन्थ्यो। मूर्तिको तल ‘टोकन अफ लभ’ लेखिएको थियो। जसलाई चुममायाले अहिले पनि सुरक्षित राखेकी छिन्।
भर्खर भर्खर पढेर नेपाल फर्किएकी चुममायालाई युवतीले दिएको त्यो उपहार र मायाले मन छोयो। उनी अहिले पनि ती युवतीलाई सम्झिरहन्छिन्। त्यति मात्र होइन, ती युवतीले पछि उनीकहाँ अरू बिरामी पनि रिफर गरिदिइन्।
प्रसूति तथा स्त्री रोग विषयमा एमडी गरेर फर्किएपछि सुरुवाती दिनमा बिरामीहरूले उनलाई पत्याएनन् पनि। नयाँ डाक्टर भनेपछि स्वास्थ्य जाँच गराउन बिरामी नै हिचकिचाउने गरेका टन्नै अनुभव छ उनीसँग।
भन्छिन्, 'नयाँ डाक्टरले त के जान्छन् होला र भन्ने पनि गरे।' तर उनै मूर्ति उपहार दिने युवती सम्झिन्छिन् अनि मनमनै खुसी हुन्छिन्।
डाक्टर हुँ भन्दा बिरामीले नपत्याएपछि...
चेतना अभावका कारण अहिले पनि महिला डाक्टर हुन्छन् र भन्नेहरू पनि भेटिने गरेको उनको अनुभव छ। अस्पताल पुग्ने कतिपय बिरामीले महिलालाई डाक्टरका रूपमा स्विकार्न नसकेको देख्दा उनलाई दुःख लाग्छ। कतिपय बिरामीले त महिला डाक्टरलाई नर्स भनेर ब्यवहार गर्छन्।
'अस्पतालमा राउण्डमा गएर बिरामी जाँच्दासमेत नर्स भन्ठानेर डाक्टर कतिखेर आउनुहुन्छ भन्दै बिरामीले सोध्छन्,' चुममाया भन्छिन्, ‘केटी मान्छे पनि डाक्टर हुन्छ भन्ने कुरा अझै कतिपय बिरामीले विश्वास नै गर्नुहुन्न।’
दुई वर्षअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनले ‘म नै डाक्टर हुँ’ भन्दा बिरामीले नपत्याएको प्रसंग सुनाइन्।
साँझको समय थियो। एक महिला अस्पताल भर्ना भइन्। सुत्केरी हुन आएकी ती महिलाको चुममायाले स्वास्थ्य जाँचिन्। तर, उनलाई आफन्तले, ‘डाक्टरचाहिँ कतिखेर आउनुहुन्छ सिस्टर’ भन्दै सोधिछिन्।
जवाफमा चुममायाले आफैं डाक्टर भएको बताउँदा ती महिला र तिनका आफन्तले पत्याएनन्। बिरामीको स्वास्थ्य परीक्षण गरेर बाहिरिँदै गर्दा सुत्केरी हुन आएकी महिलाका श्रीमानले चुममायासँगै भएका जुनियर मेडिकल अधिकृत (पुरुष)लाई ‘डाक्टर आउनुभएको छैन, कतिखेर आउनुहुन्छ?’ भन्दै सोधेछन्। अनि ती पुरुष मेडिकल अधिकृतले सम्झाएपछि मात्र महिलाका आफन्तले पत्याए।
आफू डाक्टर हुँदा पनि बिरामीले नपत्याउँदा मन चसक्क भएको चुममाया बताउँछिन्।
'म त केहीबेर भावुक नै भएँ', उनले भनिन्, 'त्यो बेला बोल्नै सकिनँ।पछि मन बुझाएँ।'
ओपीडीमा बिरामी जाँच्दासमेत पटक पटक ‘म नर्स हैन, डाक्टर हो’ भन्नुपरेको घटना सम्झिँदा उनलाई खल्लो लाग्छ अहिले पनि। अशिक्षित मात्रै हैन, शिक्षित व्यक्तिले समेत महिला डाक्टरलाई नर्सकै रूपमा लिने गर्दा उनलाई रिसै उठ्ने रहेछ।
स्थायी घर पोखरा, जन्म हङकङ
२०३९ सालमा चुममाया हङकङमा जन्मिएकी हुन्। उनको स्थायी घर पोखराको रामघाट हो। हङकङमा जन्मिए पनि उनी पोखरामै हुर्किइन्। यतै पढिन्। पोखराको मनकामना बोर्डिङ स्कुलबाट २०५६ मा एसएलसी गरेकी उनले पोखराबाटै २०५८ सालमा प्लस टु सकिन्।
चुममायालाई डाक्टर पढ्ने खुब रहर थियो। त्यसैले उनी एमबीबीएस अध्ययनका लागि चीनको सिचुवान पुगिन्। सन् २००२ मा एमबीबीएस अध्ययनका लागि ‘वेष्ट चाइना युनिभर्सिटी अफ मेडिकल साइन्सेस’मा भर्ना भइन्। सन् २००७ मा उनको एमबीबीएस अध्ययन पूरा भयो। त्यसपछि उनी नेपाल फर्किइन्।
नेपाल फर्किएर तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मेडिकल अधिकृतका रूपमा काम गर्न थालिन्। त्यहाँ उनले करिब साढे तीन वर्ष काम गरिन्।
थप अध्ययन त गर्नु छँदै थियो। त्यसैले उनी एमडी अध्ययनका लागि सन् २०१३ मा फिलिपिन्स पुगिन्। अनि फिलिपिन्सको ‘क्विरिनो मेमोरियल मेडिकल सेन्टर’मा स्नातकोत्तर तहको ‘अब्स्ट्रेटिक्स् एण्ड गाइनेक्लोजी (प्रसूति तथा स्त्रीरोग)’ विषयमा एमडी अध्ययन थालिन्। जुन विषयमा उनलाई बढी रुचि थियो। सन् २०१६ मा उनी एमडी सकेर नेपाल फर्किइन्।
तर, नेपालमा अध्ययन गरेको विशेषज्ञताअनुसार उनलाई जागिर पाउन कठिन भयो। भनेजस्तो जागिर पाउनै मुस्किल पर्यो। त्यसैले उनी पोखरामा एउटा निजी क्लिनिकमा काम गर्न थालिन्।
चित्तबुझ्दो काम पाउन उनलाई झण्डै एक वर्ष कुर्नपर्यो। त्यो बेला उनको हात पनि मर्किएको थियो। जसले केही तनावको स्थिति पनि निम्तियो।
एमडी सकेर नेपाल फर्किएको करिब एक वर्षपछि भने डा. चुममायाले तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नै पुनः जागिर पाइन्।
हाल यो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएको छ। उनी हाल प्रतिष्ठानमा एसिस्टेण्ट प्रोफेसरका रुपमा कार्यरत छिन्।
डा. चुममायाको अहिलको काम विशेषगरी प्रसूति तथा स्त्रीरोगको समस्या भएर अस्पताल पुगेका बिरामीको उपचार गर्नु हो। उनी प्रतिष्ठानमा एसिस्टेन्ट प्रोफेसरसमेत हुन्। चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउँछिन्।
असार १६, २०८० शनिबार २१:५२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।