क्यानका अध्यक्ष चन्दमाथि पूर्व जिएमको आरोप : दिउसै रक्सीले धुत भएर अभद्र गाली गरेपछि राजीनामा दिएँ'
काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) का महाप्रबन्धक वृत्तान्त खनालले अध्यक्ष चतुर बहादुर चन्द रक्सीले धुत भएर अभद्र गाली गरेपछि राजीनामा दिएको दाबी गरेका छन्।
क्यानको बोर्ड बैठकबाट उनको राजीनामा स्वीकृत भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चन्दविरुद्ध गम्भीर आरोप लगाएका हुन्।
उनले फेसबुकमा चन्दको खेल र खेलाडीको मात्र नभई व्यवस्थापनमा बलमिचाइँ, सबै विषयमा पार्टीबाट वा हाल प्रधानमन्त्री कार्यालयबाट दबाब छ भन्दै काम गराउने, र काम गर्न नमिलेपछि शासकीय शैलीमा बर्खास्तको धम्की दिने बानी रहेको दाबी गरेका छन्।
चन्द कांग्रेसका बैतडी जिल्ला सभापति भएको र उनको केही आर्थिक अनियमिततामा व्यवस्थापनको प्रश्न उठेपछि पुरानै शासकीय शैलीमा उग्र रूपमा गाली गलौचमा फर्किएको उनको दाबी छ।
'दिउँसै रक्सी सुरमा धुत भएर सङ्घको केन्द्रीय कार्यालयमा आएर मलाई अभद्र गाली गरेपछि मैले राजीनामा दिएको हुँ। विवादास्पद टी-२० लगायत सङ्घका स्रोतका अन्य धेरै विषयहरू क्रमशः व्याख्या गर्दै गरौँला' उनले लेखेका छन्।
असार १६, २०८० शनिबार २०:३१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।