चार पटकको विश्व च्याम्पियन वेस्ट इन्डिज विश्वकप छनोटबाटै बाहिरियो, स्कटल्याण्डसँग लज्जास्पद हार
चार पटकको विश्वकप च्याम्पियन वेस्ट इन्डिज आईसीसी विश्वकप छनोट २०२३ को छनोट चरणबाटै बाहिरिएको छ।
हरारे स्पोर्टस् क्लबमा सुपर सिक्सअन्तर्गत भएको खेलमा वेस्ट इन्डिज स्कटल्याण्डसँग ७ विकेटले पराजित भयो। पराजयसँगै उसको विश्वकप खेल्ने सपना चकनाचुर भएको हो।
पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३.५ ओभरमा अलआउट हुँदै मात्र १८१ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको स्कटल्याण्डले १८२ रनको लक्ष्य ३९ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर भेट्टायो।
स्कटल्याण्डलाई जित दिलाउन विकेट किपर म्याथु क्रसले सर्वाधिक ७४ रन बनाए। यस क्रममा उनले १०७ बलको सामना गरे। त्यस्तै ब्रान्डन म्याकलनले ६९ रनको योगदान दिए।
वेस्ट इन्डिजका जसन होल्डरले बनाएको ४५ रन सर्वाधिक बन्यो। अन्य ब्याटरले स्कटल्याण्डको फिल्डिङ र बलिङसामु खुलेर खेल्न सकेनन्। उसका दुई खेलाडी त शून्य रनमै आउट भए।
वेस्ट इन्डिजलाई सस्तैममा समेट्न म्याकलनले ३ तथा अन्य तीन खेलाडीले समान २/२ विकेट लिए। यसअघि वेस्ट इन्डिजले नेदरल्याण्ड्ससँग सुपर ओभरमा २२ रनले हार बेहोरेको थियो। वेस्ट इन्डिजले खेलका ४ मध्ये २ मा जित तथा २ मा हार बेहोर्यो।
सुपर सिक्सअन्तर्गत भोलि हुने खेलमा भोलि जिम्बाबे र श्रीलंका भिड्दैछन् भने पर्सि हुने खेलमा नेदरल्याण्ड्सले ओमानको सामना गर्नेछ।
असार १६, २०८० शनिबार २०:०७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।