दलित भएकै आधारमा भाडावाललाई घरबाट निकाल्ने ब्राह्मण घरबेटी पक्राउ

दलित भएकै आधारमा भाडावाललाई घरबाट निकाल्ने ब्राह्मण घरबेटी पक्राउ

 दाङः दलित भएकै आधारमा भाडाबाट निकालेको आरोपमा प्रहरीले दाङमा एक जना घरबेटीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका-१७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ गरी अनुसन्धान थालिएको छ। ​​​​​​​

पोखरेलको घरमा बसिरहेका पञ्चल देवल नगरपालिका-७ पुल्तोला अछाम हाल घोराही-१७  मा बस्दै आएका महेन्द्र विक र अदानचुली गापा-३ हुम्लाका अङ्गराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएको छ।

'तिमीहरू कामी रहेछौँ, घर बनाएदेखि दलितलाई छिर्न दिएको छैन। तिमीहरू घरमा आएदेखि म बिरामी छु भन्दै घरबाट निकालिदिनुभयो', पीडित महेन्द्र विककी श्रीमती शान्तिले भनिन्। 

सोही घरमा परियार थर गरेका एक जनासँग तीन जना एउटै कोठामा बस्थे। महेन्द्रको परिवार अर्को कोठामा बस्थे।

शुक्रबार साँझ घरबेटीले त्यस्तो व्यवहार गरेको प्रहरीले बताएको छ। प्रहरीले जातीय छुवाछूतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ।

घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार संघ दाङलगायत विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरी विरोध जनाएका छन्। साथै दोषीमाथि कारबाहीको माग गरेका छन्।

असार १६, २०८० शनिबार १९:२२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।