श्रीलंकनलाई नेपाल घुम्न आउन व्यवसायीको आग्रह, श्रीलंका भैरहवा सिधा उडानका लागि पहल

श्रीलंकनलाई नेपाल घुम्न आउन व्यवसायीको आग्रह, श्रीलंका भैरहवा सिधा उडानका लागि पहल

बुटवल : नेपाल र श्रीलंकाका सरकारी उच्च अधिकारी, पर्यटन व्यवसायी तथा विज्ञहरुको सहभागितामा श्रीलंकाको कोलम्बोमा नेपाल प्रबर्द्धन कार्यक्रम सम्पन्न भएको छ।

बुद्ध जन्मस्थलसहित नेपालका धार्मिक तथा अन्य पर्यटकीय गन्तव्यहरुको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने र नेपालमा पर्यटक भित्र्याउन टेवा पुर्याउने उद्देश्यले नेपाल प्रबर्द्धन कार्यक्रम गरिएको हो।

अन्तर्राष्ट्रिय जगतमा लुम्बिनी र यस आसपासका क्षेत्रसँगै मुलुकका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचारप्रसार र प्रबर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र सिद्धार्थ होटल संघ (सान) को आयोजनामा श्रीलंकाका दुई सहरमा नेपाल प्रबर्द्धन कार्यक्रम भएको आयोजकले जनाएका छन्।

२८ जुनमा क्याण्डीमा नेपाल प्रबर्द्धन कार्यक्रम गरेका व्यवसायीले शनिबार कोलम्बोमा नेपाल प्रबर्द्धन र विजनेस टु विजनेस (बीटुबी) कार्यक्रम गरेका हुन्। कार्यक्रमले लुम्बिनीसहित बुद्धिस्ट सर्किटको प्रचारप्रसार मार्फत नेपाललाई पर्यटकीय हब बनाउने सन्दर्भमा गहन छलफल भएको होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए।

यस्तै, व्यवसायीले कार्यक्रममा श्रीलंकाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानका लागि पहल गर्नुका साथै लुम्बिनीबाट बौद्ध सर्किटको टूर प्याकेज बनाउन आग्रह गरेका छन्।

कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले गौतम बुद्ध विमानस्थलमा कम्तीमा हप्तामा एउटा उडान गर्न श्रीलंकन एयरलाइन्सलाई आग्रह गरे।

उनले नेपाल एयरलाइन्सले पनि श्रीलंका उडानको तयारी गरिरहेको जनाउँदै यसले दुवै देशको पर्यटन प्रबर्द्धन र पर्यटकीय क्षेत्रको विकास गर्नमा फाइदा पुर्याउने उल्लेख गरे।

असार १६, २०८० शनिबार १७:३९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।