लुम्बिनीमा मिडियाको बजेट समेत आसेपासेलाई, मुख्यमन्त्री र मन्त्रीकै प्रेस सल्लाहकारका संस्थालाई पैसा

लुम्बिनीमा मिडियाको बजेट समेत आसेपासेलाई, मुख्यमन्त्री र मन्त्रीकै प्रेस सल्लाहकारका संस्थालाई पैसा

बुटवल : प्रभाव र पहुँचका आधारमा कसरी आफू निकटलाई बजेट विनियोजन गरिन्छ भन्ने उदाहरण यस पटक पनि लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको बजेटमा देखिएको छ।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट आफू प्रमुख संरक्षक रहेको संस्थालाई १ करोड ६० लाख बजेट विनियोजन गरेकोमा उता सञ्चार क्षेत्रको बजेटमा पनि पहुँचवालाहरुकै हालीमुहाली भएको पाइएको छ।

आगामी आर्थिक वर्षका लागि ल्याइएको सञ्चार क्षेत्रको बजेट केही निश्चित सञ्चार माध्यमलाई मात्र पोस्ने गरी विनियोजन भएको छ। यसरी विनियोजन भएको रकम मुख्यमन्त्री र मन्त्रीका प्रेस संयोजक तथा आफ्ना नजिकका मिडिया हाउसलाई विनियोजन गरिएको पाइएको छ।

बजेटमा केही सञ्चारमाध्यमका लागि पहुँचका आधारमा डेढ करोड बढी रकम विनियोजन गरिएको छ। यसरी दिन लागिएको रकम सञ्चार उपकरण खरिद, क्षमता अभिबृद्धि र कार्यालय व्यवस्थापनका नाममा दिन लागिएको हो।

दाङ तुलसीपुर-५ मा रहेको ‘अग्रिम साप्ताहिक’लाई सञ्चार सामग्री खरिदका लागि १० लाख र उपकरणका लागि १० लाख गरी २० लाख बजेट विनियोजन गरिएको छ। यसैगरी अग्रिम साप्ताहिकद्वारा नै संचालित ‘लाइभ दाङ डटकम’लाई संचार सामग्री खरिदको लागि भन्दै ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यो संस्थालाई मात्रै तीन वटा फरक–फरक शीर्षकमा गरी २५ लाख बजेट विनियोजन गरिएको छ। जुन संस्था प्रदेशका अर्थमन्त्री धन बहादुर मास्केका प्रेस सल्लाहकार दीपक बोहोराको हो।

दुवैका संचालक तथा प्रधान सम्पादक बोहरा हुन्। बोहराले मन्त्रीको प्रेस सल्लाहकार भएकै आधारमा पद र शक्तिको दुरुपयोग गर्दै आफ्नो एउटै संस्थालाई ३ फरक शीर्षकमा २५ लाख विनियोजन गर्न लगाए।

त्यस्तै ‘प्रदेश टुडे दैनिक’ दाङ तुलसीपुरलाई क्षमता अभिबृद्धि र सामग्री खरिदका लागि १० लाख बजेट विनियोजन गरिएको छ। प्रदेश टुडे दैनिकका सम्पादक  मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका प्रेस सल्लाहकार गोपाल शर्मा भट्टराई छन्। भट्टराईले पनि पद र शक्तिको दुरुपयोग गर्दै बजेट आफ्नै मिडियामा पार्न लगाए।

त्यस्तै रोल्पामा रहेको ‘रेडियो जलजला’लाई १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेट विनियोजन गरिएको शीर्षकमा उक्त रेडियोको सामग्री खरिद तथा कार्यालय व्यवस्थापनको लागि उल्लेख गरिएको छ।

यो रेडियोलाई कुलप्रसाद केसी मुख्यमन्त्री रहँदा पनि विभिन्न शीर्षकमा ६५ लाख बजेट विनियोजन गरिएको थियो। यो रेडियोको सञ्चालक निवर्तमान मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विश्वकर्मा हुन्। 

यसैगरी बाँकेको कोहलपुरमा रहेको ‘निजी रेडियो मिसन’को स्तर उन्नतीका लागि ४ लाख बजेट विनियोजन भएको छ। 
‘सिंग्नल मिडिया नेटवर्क’ बुटवल-९ का लागि ५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। 

‘रेडियो सूर्यमुखी’ रुन्टीगढीका लागि १० लाख बजेट विनियोजन भएको छ। यसैगरी ‘रेडियो बुद्ध आवाज’का लागि उपकरण खरिद गर्न १० लाख र ‘नेपाल मिडिया नेटवर्क’का लागि १० लाख बजेट विनियोजन भएको छ।

यसैगरी मानव अधिकार सूचना तथा सञ्चार केन्द्रलाई १० लाख र सामुदायिक सञ्चार माध्यम उपकरण खरिदका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। 

सरकारले केही निश्चित मिडियालाई मात्रै बजेट विनियोजन गरेको भन्दै अहिले चर्को आलोचना भइरहेको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले प्रदेश सरकारले मिडियामा विनियोजन गरेको बजेट बेथितिकै नमुना भएको टिप्पणी गरेका छन्।

यता केही पत्रकारहरुले त मुख्यमन्त्रीलाई भेटेरै बजेटलाई सच्चाउन आग्रह गरेका छन्। भेटका क्रममा सञ्चार क्षेत्रको बजेट समानुपातिक ढंगले वितरण गर्ने प्रतिबद्धता मुख्यमन्त्री चौधरीले गरेको बताइएको छ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेयले भने मन्त्रालयबाट मिडियाको लागि एकमुस्ट रुपमा ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए। उनले केही निश्चित मिडियाका नाम सांसद विकास कोषबाट सांसदहरुले राखेको हुनसक्ने उनले उल्लेख गरे।

असार १६, २०८० शनिबार १६:४७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।