दाग लागेको कांग्रेसको महामन्त्रीभन्दा सफा कांग्रेसको कार्यकर्ता हुनु मजा : गगन थापा

दाग लागेको कांग्रेसको महामन्त्रीभन्दा सफा कांग्रेसको कार्यकर्ता हुनु मजा : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागेको बताएका छन्। 

कांग्रेसको दोलखा–काठमाडौं सम्पर्क समितिको शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री बन्ने प्रवृत्तिले कांग्रेस, एमाले माओवादीजस्ता पुराना पार्टी संकटमा परेको बताए।

‘संसारमा एउटा त्यस्तो देश बताइदिनुस्, जुन देशमा एक व्यक्ति, एक नेता ५/६ पटक प्रधानमन्त्री भएको होस्। यस्तो कहीं हुँदैन। कुनै डेमोक्रेसीमा हुँदैन, उनले भने, ‘नेपालमा पुराना पार्टी आज किन संकटमा छन् थाहा छ? कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको कारणमध्ये मूल कारण भनेको ती पार्टीको नेताहरु जमेको पोखरी जस्तो भए।’

‘यस्तो कहीं हुन्छ? २० वर्षदेखि, २५ वर्षदेखि, ३० वर्षदेखि नेता नबदल्ने कुनै पनि पार्टी हुँदैन। पोलिटिक्समा पनि एक्जिटको व्यवस्था गरिएको हुन्छ। हामीकहाँ एक्जिटको व्यवस्था गरिएन,’ उनले थपे।

 उनले अमेरिकामा एउटा व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति नहुने परम्परा रहेको र नेपालमा पनि यस्तै पद्धति बसाल्नुपर्ने उनले बताए। 

‘मैले नेपाली कांग्रेसभित्र थिति बसाल्ने कुरा गरेको हो। कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ। तर काँग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ,’ थापाले भने, ‘दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा काँग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ।’

असार १६, २०८० शनिबार १५:५४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।