भारत भ्रमणमा राष्ट्रको हितमा धेरै समझदारी भयो, अब छिट्टै चीन जान्छु : प्रचण्ड

भारत भ्रमणमा राष्ट्रको हितमा धेरै समझदारी भयो, अब छिट्टै चीन जान्छु : प्रचण्ड

कास्की : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण ऐतिहासिक भएको बताएका छन्।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले अब छिट्टै चीन जाने तयारी भइरहेको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएको बताए। ‘भारतीय प्रधानमन्त्रीले आफैं सीमा समस्या हल गरिन्छ भन्नु ठूलो विषय हो। यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्,’ उनले भने। 

उनले पारवहन सन्धि पुनरावलोकन महत्वपूर्ण निर्णय भएको र विद्युत व्यापार सम्झौता पनि सानो कुरा नभएको उल्लेख गर्दै १० वर्षमा १० हजार मेगावट बिजुली निर्यात गर्ने समझदारी सामान्य नभएको बताए।

यसबाट विद्युत व्यापार पनि बढ्ने र लगानीको ढोका पनि खुल्ने जिकिर गर्दै उनले यो आउने पिंढीले पनि सम्झिरहने काम भएको उल्लेख गरे।

साथै उनले छिट्टै चीनको भ्रमणको तयारी भएको जानकारी गराए। चीनमा पनि देश र जनताको हितका लागि अधिकतम राम्रो गर्ने कोसिस हुने उनको भनाइ थियो।

हवाई मार्गका लागि भारतसँग कुरा गरिएको र छिट्टै त्यो निष्कर्षमा पुग्ने जिकिर गर्दै उनले चीन जाँदा पनि यस विषयमा छलफल हुने बताए। ​​​​​

असार १६, २०८० शनिबार १५:३३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।