फिल्म परस्त्री : डार्क थ्रिलर विधामा कमजोरीसहितको सकारात्मक प्रयास
काठमाडौं : परस्त्री, पराइकी स्त्री वा आफ्नी पत्नी बाहेककी अन्य स्त्री। नेपाली समाजका लागि परस्त्रीको शब्द र अर्थ महिलालाई होच्याउन प्रयोग गरिन्छ। आफू जस्तै अर्की महिलाको श्रीमान्सँग लाग्ने महिला र घरमा श्रीमान् हुँदाहुँदै अर्को पुरुषसँग लाग्ने महिला दुवैको अर्थ बुझाउँछ यो शब्दले।
फिल्मको घोषणा हुँदा नै अन्य फिल्म जस्तै यसले पनि महिलालाई घोचपेच गरेको छ, महिलाको दुस्मन महिला हो भन्ने भाष्य प्रमाणित गर्न खोजेको जस्तो लागेको थियो। तर फिल्मको कथावस्तुले शीर्षकलाई सार्थक बनाएन। महिलाको दृष्टिकोणले यो फिल्म हेर्ने हो भने यसको सबैभन्दा सकारात्मक पाटो नै शीर्षक सार्थक नहुनु हो।
आरजे (रेडियो जक्की) आभ्या (शिल्पा मास्के) छिन्, जो फोनमा श्रोतासँग गफ गरेर मनका कुरा बाँड्छिन्। तर उनको मनभरी धेरै कुराहरु गुम्सिएका छन्। धनी घरकी उनी दिमागी स्वास्थ्य ठीक नभएको श्रीमान् (कोसिस क्षेत्री) बाट पीडित छिन्।
उनका श्रीमान् धेरै मायालु छन्, उनलाई माया त गर्छन् तर दिमागी स्वास्थ्य ठीक ठाउँमा नरहँदा श्रीमतीलाई दुःख दिन्छन्।
त्यही समयमा अर्को अविवाहित पुरुष (गौरव विष्ट) को प्रवेश हुन्छ, जसले श्रीमान्ले आध्यालाई दिन नसकेको शारीरिक सन्तुष्टि पुरा गर्छ।
यही तीन पात्र वरपर घुमेको छ फिल्म। साइकोपाथ पात्र भएका थ्रिलर फिल्मका यी पात्रहरुको कथा कसरी अगाडि बढाउलान्, थाहा पाउन नेपाल र भारतका हलहरुमा चलिरहेको फिल्म हेर्नुपर्छ।
फिल्ममा धेरै नौला प्रयोगहरु भएका छन्। क्राफ्टहरुको प्रयोग यो फिल्मको सबैभन्दा सुन्दर पक्ष हो। उदाहरणका लागि, आभ्यालाई देखेपछि शरीर भोगका लागि पठाइएको भित्री वस्त्र र गुलाफको फूल। यी दुवै क्राफ्टले कोही मानिस आभ्याको शरीरसँग आकर्षित भइरहेको छ भन्ने देखाउन मद्दत गर्छ। जब सम्बन्धमा दरार आउँछ, गुलाफको फूल ओइलिएको देखाइन्छ।
चरित्र निर्माणमा धेरै मिहिनेत गरिएको देखिन्छ। लामो दुरीको प्रेम सम्बन्धमा बसेको अविवाहित युवाको मनोदशा, बालापनमा देखेको घटनाले मनोविज्ञानमा असर पारेको आईटी इन्जिनियर र अतृप्त यौन सम्बन्धले कुण्ठित सञ्चारकर्मी।
क्यामराको काममा नयाँ प्रयास गरिएको छ। पात्रको मनोदशा अनुसार क्यामरा चलाउन सक्नु यो फिल्मको बलियो पक्ष हो। पात्रको दिमागमा शून्यता छाउँदा ब्ल्याक बनाइएको दृष्य शक्तिशाली छ।
तर कतिपय दृष्यहरुले भने कथालाई स्थापित गर्न सकेको छैन। जस्तै, आभ्यालाई बेहोस बनाइसके पछिको ओछ्यानसम्म लैंजादाको दृष्य छ, जसमा क्यामरा छड्केबाट बिस्तारै सिधा हुन्छ। यसले भन्न खोजेको के हो, थाहा हुँदैन।
कलाकारहरुको अभिनय अर्को राम्रो पाटो हो फिल्मका लागि। साइको पात्रको भूमिकामा कोसिस क्षेत्रीले गरेको काम प्रशंसायोग्य छ। डेब्यु कलाकार गौरव विष्टको अभिनय मौलिक छ। शिल्पा मास्केले आफ्नो भूमिकालाई न्याय दिएकी छन्, तर केही ठाउँमा भने उनको अभिनय अलि बढी जस्तो देखिएको छ।
फिल्ममा राम्रा पाटो हुँदाहुँदै पनि कमजोरी मुक्त हुन सकेन यो फिल्म। फिल्मका लेखक दीपेन्द्र के. खनाललाई एक आरोप लाग्ने गरेको छ, कथाको जग कमजोर बनाउने। त्यही गल्ती यसमा पनि छ।
मानसिक अवस्था स्वस्थ भएको व्यक्तिले शवसँग यौनसम्बन्ध राख्न सक्छ? पक्कै सक्दैन। बाबुको कारण छोराको मनस्थितिमा असर परेको देखाइएको छ। तर बाबुले किन त्यसो गर्यो भन्ने कतै खुल्दैन।
फिल्ममा क्यामराको काम राम्रो छ, तर जुन ठाउँमा काम देखाउन सक्नुपर्थ्यो, त्यहाँ मिहिनेत छैन अनि जहाँ आवश्यक छैन त्यहाँ मिहिनेत लागेको छ।
उदाहरणका लागि, मानिस काटेको सिनमा ब्ल्याक बनाउन सकिन्थ्यो, श्रीमती अर्कोसँग शारीरिक सम्पर्क राखेको ठाउँमा अर्को नयाँ प्रयोग गर्न सकिन्थ्यो। आफ्नी श्रीमतीलाई परपुरुषले कुदृष्टिले हेरेको समेत देख्न नसक्ने मानवीय स्वभाव हुन्छ।
त्यहाँ त शारीरिक सम्पर्क भइरहेको थियो। तर पात्र आफैंले आफैंलाई चक्कु रोपेको कल्पना गर्छ तर परपुरुष र श्रीमतीलाई छाडिदिन्छ।
कतिपय दृष्यहरु अनावश्यक छन्। जस्तै, आभ्यालाई बेहोस बनाइसकेपछि फेरि कसरी पानीमा बेहोस हुने औषधी मिलाएको थियो भन्ने देखाउन जरुरी छ र?
बाबुले लाससँग शारीरिक सम्पर्क राखेको देखाउँदा सिम्बोल प्रयोग गरिएको छ। त्यस्तै छोराको समयमा भने पुरै देखाइएको छ। कलात्मक माध्यमबाट देखाउन सकिने दृष्यलाई सिधै देखाउँदा फिल्म हेरिरहेका दर्शकलाई केही दृष्यमा अप्ठ्यारो लाग्न सक्छ।
फिल्मको अर्को कन्फ्युजिङ पाटो भनेको रंग संयोजन पनि हो। रातो रंगले धेरै कुरालाई देखाउँछ। माया प्रेम, हिंसा, अपराध सबै। तर रातो रंगको पनि धेरै प्रकार हुन्छ। फिल्मले रातो रंगको प्रकार देखाउन सकेको छैन।
प्रेमको र हिंसाको रंग उस्तै रातो भइदिंदा त्यसले फिल्ममा जति मज्जा दिनुपर्थ्यो त्यति दिन सकेन।
फिल्ममा ब्याकग्राउन्ड म्युजिक (बीजीएम) राम्रो छ, तर त्यसको प्रयोग प्रभावकारी ढंगले हुन सकेको छैन। फिल्मको संसारमा लैजान बीजीएम नराम्रोसँग चुकेको छ।
फिल्मको सबैभन्दा अल्छी लाग्दो पाटो बन्न पुगेको अर्को चिज हो, संगीत। निकै अल्छी लाग्दो र सन्दर्भ नमिलेको म्युजिक फिल्ममा प्रयोग गरिएको छ। त्यो हटाएको भए, फिल्म केही चाख लाग्दो बन्नसक्थ्यो।
फिल्ममा सबैभन्दा नराम्रोसँग चुकेको ठाउँ नै शीर्षक हो। फिल्मले शीर्षकलाई सार्थक बनाउँदैन। यसको कारण हो, कुन पात्रले कथा भनेको ठम्याउनै नसक्नु।
दोस्रो पक्षबाट वाचन हुने शब्द हो परस्त्री। फिल्म आधा आभ्याको नजरबाट छ, आधा उनको श्रीमान्को नजरबाट। जसको आँखाले कथा भनेमा शीर्षक सार्थक हुनसक्थ्यो उसको नजरको कथा छैन यसमा।
फिल्ममा निकै शक्तिशाली दृष्यहरु छन्, जस्तै मेकअप बिगारेर ऐनमा लिपिष्टिकले चित्र कोर्नु, सजिएर ओछ्यानमा ‘द गर्ल हु ड्रयाङक द मून’ किताबसँगै सुत्नु, रातो भित्री वस्त्र लगाएर हस्तमैथुन गर्नु आदि।
तर यी सबै दृष्यहरुको कनेक्सन नै छैन। सरर यी दृष्य बग्न नसक्दा शक्तिशाली दृष्य भए पनि यसले फिल्मको कथा बोक्न सकेको छैन।
फिल्ममा समस्या छन्। विदेशतिर बनेका यिनै विधाका फिल्मसँग परिस्त्रीको तुलना गर्दा केही खल्लो लाग्नसक्छ तर प्रयास राम्रो छ। नेपालमा डार्क थ्रिलर विधामा कमै फिल्म बनेका छन्। त्यसमा यो सुन्दर प्रयास हो।
डेब्यु निर्देशनमै यत्तिको कथा भन्न सक्नु सुरज पाण्डेको क्षमता हो। उनले राम्रो सम्भावना देखाए पहिलो फिल्मबाटै।
यदि मुटु कमजोर छ भने, फिल्म तपाईंका लागि हैन। साइकोपाथ डार्क थ्रिलर फिल्मको पारखी हुनुहुन्छ भने फिल्मले आनन्द दिनसक्छ।
असार १६, २०८० शनिबार १३:३३:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।