रौतहटमा २ वर्षीया छोरी र आमा मृत भेटिए, श्रीमान् र ससुरा फरार

रौतहटमा २ वर्षीया छोरी र आमा मृत भेटिए, श्रीमान् र ससुरा फरार
तस्बिर : रौतहट न्युज

रौतहट : रौतहटको मौलापुरमा आमा छोरीको शंकास्पद मृत्यु भएको छ। मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा फेला परेका थिए।

आरुहीको शव पङ्खामा झुन्डिएको तथा कविताको शव घरबाट बाहिरिने सिंढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले बताए।

उनका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन्। कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। 

कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ। उनको माइतीघर माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँ हो।

कविताका बुबा विजयशङ्कर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए। उनका अनुसार छोरी र ज्वाइँबीच पटक पटक विवाद हुने गरेको थियो। 

बेलाबेलामा ज्वाइँ धिरेन्द्र साहले नगद, पलङ, सुनको औंठी र सिक्री माग्ने गरेको उनले बताए।

असार १६, २०८० शनिबार १२:३६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।