पहिरोले देशभरका यी सडक छन् अवरुद्ध

पहिरोले देशभरका यी सडक छन् अवरुद्ध

काठमाडौं : दुई दिनदेखिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बुर्तिबाङ–रुकुम खण्ड अन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–२ जुग्जाखोला नजिकै आज पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोला लगायतका ठाउँबाट काठमाडौँ, बुटवल, पोखरा लगायतका ठाउँमा जाने यातायातका साधन ठप्प भएका छन्। 

उता नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात पनि पहिरोका कारण अवरुद्ध भएको छ। 

जिल्लाको दलदले–कुमसोत–पोखरी खण्ड अन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिरोको कारण  यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ। पानी परिरहेकाले यस खण्डमा तत्काल पहिरो पन्छाएर बाटो खुलाउन समस्या भएको छ।

नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिरोले अवरुद्ध भएपछि मुख्य राजमार्ग र सदरमुकामसँग पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको छ । 

यसैगरी कालीगण्डकी करिडोरको नवलपुर खण्डसमेत पहिरोको कारण अवरुद्ध भएको छ। कालीगण्डकी करिडोर अन्तर्गत बुलिङटार १ र ६ मा पहिरो खसेकाले करिडोर पूर्णरुपमा बन्द भएको हो। 

त्यसैगरी पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको छ। सन्धिखर्क–६ नरपानीको बहखोरामा गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

गोरुसिङ्गे सन्धिखर्क सडकको सन्धिखर्क–६ नरपानीकै दहखोला र शीतगङ्गा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए। सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रु बीचमै रोकिएका छन्।

असार १६, २०८० शनिबार १२:०६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।