सत्ता गठबन्धन हेरफेरको कुरा हल्ला मात्र : अर्थमन्त्री महत

सत्ता गठबन्धन हेरफेरको कुरा हल्ला मात्र : अर्थमन्त्री महत

कास्की : अर्थमन्त्री डा. प्रकाशशरण महतले सत्ता गठबन्धन हेरफेरको कुरा हल्ला मात्र भएको बताएका छन्।

नेपाल प्रेस युनियन कास्कीद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सत्ता गठबन्धन हेरफेरको कुरा अफवाह भएको उल्लेख गर्दै त्यसका पछि नलाग्न आग्रह गरे।

उनले निश्चित लक्ष्यका साथ सुशासन गर्ने, आर्थिक वृद्धि हासिल गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने कुरालाई केन्द्रमा राखेर वर्तमान गठबन्धन अघि बढ्ने बताए।

साथै उनले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन्। महतले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको उल्लेख गरे।

सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यका साथ उद्योग व्यवसायलाई बढाउने प्रस्ताव गरेको मन्त्री महतले बताए। उद्योग व्यवसाय खोल्नका लागि निःशुल्क उद्योग दर्ता गर्न सक्ने र पुँजी एक सय रुपैयाँ राखेर पनि प्रारम्भिक उद्योगको सुरुआत गर्न सक्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।

आईटीलाई प्रोत्साहन गर्न करमा आधा छुटको व्यवस्था मिलाइएको र पुँजीको कुनै सिमाना नरहेको पनि उनले बताए। पुँजीगत खर्च गर्ने सीमाका कारण हरेक ठाउँमा चाहेजस्तो बजेट विनियोजन गर्न नसकिएको उल्लेख गर्दै मन्त्री महतले बजेटको लक्ष्य लोकप्रिय रहेको र यसले लोकप्रिय परिणाम दिने विश्वास व्यक्त गरे।

खर्च प्रक्रियालाई सहज बनाउने र अनुशासन कायम गर्नतर्फ सरकार लागेको जिकिर गर्दै उनले बजेटको समयमा कार्यान्वयन नहुने, कार्यविधि नबन्ने, समयमा ठेक्का नलाग्ने जस्ता विषयको अन्त्य गर्नका लागि मुख्य सचिवसहित मन्त्रालयका सचिवलाई बोलाएर निर्देशन दिएको बताए। निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएको उनको भनाइ छ।

असार १६, २०८० शनिबार ११:४८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।