केन्यामा सडकबाट चिप्लिएर ट्रक दुर्घटना, पैदलयात्रीसमेत ४८ जनाको मृत्यु

केन्यामा सडकबाट चिप्लिएर ट्रक दुर्घटना, पैदलयात्रीसमेत ४८ जनाको मृत्यु

केन्याको लन्डियानीमा शुक्रबार साँझ भएको सडक दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ।

सिपिङ कन्टेनर बोकेको ट्रक सडकबाट चिप्लिएर दुर्घटना भएको हो। ट्रकले बस स्टपमा रहेको मिनी बसलाई पहिले र त्यसपछि पैदलयात्रीलाई किचेको थियो। केन्याको राजधानी नैरोबीबाट २०० किलोमिटर टाढा यो दुर्घटना भएको हो।

केरिचो र नाकुरु सहर बीचको राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरी कमाण्डर जेफ्री मायेकले बताए।

दुर्घटनामा ३० जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई विभिन्न अस्पतालमा लगिएको छ। मृत्यु र घाइते हुनेहरूको संख्या बढ्न सक्ने त्यहाँका अधिकारीलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ। 

असार १६, २०८० शनिबार १०:०४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।