टायर पड्किएर भएको बस दुर्घटनामा भारतमा २५ जनाको मृत्यु

टायर पड्किएर भएको बस दुर्घटनामा भारतमा २५ जनाको मृत्यु

भारतको महाराष्ट्रको बुलढानामा शुक्रबार राति बस दुर्घटनापछि भएको आगलागीमा परी २५ जनाको मृत्यु भएको छ। 

यवतमालबाट पुणे जाँदै गरेको बस पोलमा ठोक्किएर डिभाइडर चढेर पल्टिँदा आगलागी भएको हो। बसमा ३३ जना सवार थिए, जसमा जलेर २५ जनाको घटनास्थलमै मृत्यु भएको भाष्करले लेखेको छ। 

बसको झ्यालको सिसा फुटाएर आठ जनाले  भने ज्यान बचाएका छन्। बुलढाना जिल्लाको सिन्दखेडराजा नजिकैको पिम्पलखुटा गाउँ नजिक समृद्धि महामार्ग एक्सप्रेसवेमा बस दुर्घटना भएको हो।

बुलढानाका एसपी सुनील कडासेनले दुर्घटनामा बसका चालक भने बाँच्न सफल भएका बताए। टायर पड्किएर बस पल्टिँदा बसमा आगो लागेको उनले बताए।

प्रत्यक्षदर्शीका अनुसार चालकले बसमा सन्तुलन गुमाएका थिए। बस पहिले फलामको पोलमा ठोक्किएको थियो। आगोको बीचमा बनेको कंक्रिट डिभाइडरसँग ठोक्किएपछि पल्टिएको हो।

बस बायाँतिर घुम्यो र जसका कारण ढोका भुईंतिर परेकाले यात्रुहरू बस बाहिर निस्किन नसक्दा मृत्यु संख्या बढेको जनाइएको छ।

शव जलेका कारण पहिचानमा समस्या भएको प्रहरीले जनाएको छ। 
 

असार १६, २०८० शनिबार ०८:०९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।