थप पहिरो नखसे नारायणगढ-मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने

थप पहिरो नखसे नारायणगढ-मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने

चितवन : बिहीबार मध्यान्हबाट अवरुद्ध भएको नारायणगढ - मुग्लिन सडक खण्ड थप पहिरो नखसे शुक्रबार साँझसम्ममा सञ्चालनमा आउने भएको छ। सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ। बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उनको भनाइ छ।

दुईवटा एक्साभेटर र दुईवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन्। पौडेलका अनुसार थप पहिरो नखसेमा साँझ ५ बजेसम्ममा सडक सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ। 

सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन। ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानबाट पहिरो पन्छाउन थालिएको हो। सडक सञ्चालनमा आए पनि सवारी साधनको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ। 

चौबीस घण्टाभन्दा बढी समयदेखि सडक अवरुद्ध हुँदा सो सडक हुँदै यात्रा गर्ने धेरै यात्रुहरु बिचल्लीमा परेका छन्। उक्त सडक हुँदै दैनिक औसतमा १० हजार सवारी आवतजावत गर्ने गर्छन्।

असार १५, २०८० शुक्रबार १५:१९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।