७ वर्षमा सातै प्रदेशको नामाकरण र राजधानी तोकिनु संघीयताको उपलब्धि : प्रचण्ड

७ वर्षमा सातै प्रदेशको नामाकरण र राजधानी तोकिनु संघीयताको उपलब्धि : प्रचण्ड

कास्की : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन्।

आजदेखि कास्कीको पोखरामा सुरु भएको अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहमा प्रधानमन्त्रीले संघीयता कार्यान्वयनमा प्रभावकारी तवरले लाग्न आग्रह गरेका हुन्।

उनले भने, ‘संविधान जारी भएको झण्डै सात वर्षमा हामीले उत्साहजनक उपलब्धि हासिल गरेका छौं। तीनै तहको दोस्रो कार्यकालको निर्वाचन सम्पन्न भएको छ। सातै प्रदेशको प्रादेशिक राजधानी र नामाकरण भएको छ।’

प्रचण्डले तीन वटै तहमा चुनिएर आएका जनप्रतिनिधि सीमित स्रोतसाधनको सुझबुझपूर्ण ढङ्गले परिचालन गर्दै विकास निर्माणलाई अघि बढाउँदै जनताका आकाङ्क्षा पूरा गर्न क्रियाशील रहेकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत हुँदै गएको बताए।

‘साढे दुईसय वर्ष लामो एकात्मक राज्य प्रणालीमा अभ्यस्त हाम्रा लागि संघीय शासन प्रणाली नितान्त नौलो अभ्यास हो। संविधानले व्यवस्था गरे अनुरूप सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघीय शासन प्रणालीको सुसञ्चालन चुनौतीपूर्ण छ,’ उनले भने।

असार १५, २०८० शुक्रबार १४:०७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।