काठमाडौं उपत्यकामा सडक विस्तारपछि अब पुल विस्तार गरिने

काठमाडौं उपत्यकामा सडक विस्तारपछि अब पुल विस्तार गरिने

काठमाडौं : काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उपत्यकामा सडक जत्तिकै चौडाइमा पुल निर्माण गर्ने भएको छ। विगतमा सडक मात्रै विस्तार भएकामा अहिले सडक जत्तिकै चौडाइमा पुल विस्तार गर्न लागिएको हो।

अधिकांश सडकहरुमा विस्तारको थोरै मात्रै काम बाँकी हुँदा पुल निर्माण अघि बढाउन लागिएको आयोजनाले जनाएको छ। 

चावहिल–साँखु, जोरपाटी–सुन्दरीजल, कर्मनाशा खोला–गोदावरी, कलङ्की–थानकोट लगायतका सडकमा पुल बनाइने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।

थानकोट सडकमा बल्खु खोला, गोदावरीमा गोदावरी खोला, साँखुमा बागमतीसँगै मनोहरा र मनोमतामा पुल बनाउन लागिएको हो।

पहिले दुई लेनको पुल रहेकामा अहिले कम्तीमा चार लेन हुने आयोजनाले जनाएको छ। सडक नै कम चौडाइमा विस्तार भएका ठाउँमा पनि कम्तीमा सडकको चौडाइ बराबरको पुल बनाइने आयोजनाले जनाएको छ।

पुल निर्माण कम्पनी आफैंले डिजाइन गर्ने गरी डिजाइन एन्ड बिल्ड ठेक्कामार्फत निर्माण गर्न लागिएको हो।

उपत्यकाका यी सडकमा रहेको सवारी चाप व्यवस्थापनका लागि सडक विस्तार भए पनि पुल साँघुरो नै भएकाले तीनलाई समेत विस्तारको योजना बनाइएको हो।

उपत्यकामा थप ठाउँमा सडक विस्तारको योजना नरहेकाले अहिले पुलको नै काम हुनेछ। पुल बन्दै भए पनि सडक सम्पन्न भएपछि बुझाइने आयोजनाले जनाएको छ।

असार १५, २०८० शुक्रबार ११:३८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।