यस वर्ष धान दिवसको नाराः ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

यस वर्ष धान दिवसको नाराः ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

काठमाडौँः​​​​​​आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

मानो रोपेर मुरी फलाउने पर्वका रूपमा अधिकांश स्थानमा रोपाइँ गरी धान दिवस मनाउने गरिन्छ। 

असार १५ का दिन एक पटक हिलो टेक्नु भन्ने मान्यता छ। खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ।

हल गोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरू एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन्।

रोपाइँ गरेर थाकेको अवस्थामा पोसिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने चलन छ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउने गर्छन्।

यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न संघसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन्।

दिवसका अवसरमा देशभर रोपाइँलगायत कार्यक्रम आयोजना गरिएको छ।

कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् परिसरमा रोपाइँ महोत्सव आयोजना गरिएको छ।

उक्त कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीको सहभागिता रहनेछ।

यस वर्ष 'जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि' मूल नाराका साथ विभिन्न सरोकारवालासँगको समन्वय तथा सहकार्यमा ‘२०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८०’ देशभर विभिन्न तह र स्थानमा मनाइँदै छ।

यसै अवसरमा उत्पादन र उत्पादकत्व दिगो तथा उच्च कायम गर्नका लागि धान बालीमा जलवायु अनुकूलित कृषकमैत्री प्रविधिको सम्बन्धमा अधिकतम् प्रचार-प्रसार गरी राष्ट्रिय कार्यक्रमलाई सफल कृषि विभागका महानिर्देशक एवं रोपाइँ महोत्सव, मूल आयोजक समितिका अध्यक्ष डा हरिबहादुर केसीले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेका छन्। 

असार १५, २०८० शुक्रबार ०८:३१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।