आज राष्ट्रिय धान दिवस, देशभर वर्षाको सम्भावना

आज राष्ट्रिय धान दिवस, देशभर वर्षाको सम्भावना

काठमाडौँः आज धान दिवस मनाइँदै छ। २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। 

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। 

यसैबीच आज​​​​​​ मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

राति देशभर सामान्यदेखि पूर्णतया बदली भई कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ।

भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र प्रभावित हुनसक्ने तसर्थ भारी वर्षा, मेघगर्जन÷चट्याङ, हावाहुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

असार १५, २०८० शुक्रबार ०७:२७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।