‘कमेडी क्लब विथ च्याम्पियन्स’मा गन्धर्व पात्रप्रति गन्धर्व सांस्कृतिक कला संगठनले आपत्ति
काठमाडौं : विशाल भण्डारीद्वारा निर्देशित नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा गन्धर्व समुदायमाथि सिर्जना गरिएको पात्रप्रति गन्धर्व सांस्कृतिक कला संगठनले आपत्ति जनाएको छ।
संगठनले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रममा सिर्जना गरिएको गन्धर्व पात्रले सिंगो गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्याएको उल्लेख गरेको छ।
संगठनका महासचिव अनिल गन्धर्वद्वारा जारी विज्ञप्तिमा गन्धर्व पात्रको भूमिका निभाउने कलाकारले गन्धर्व समुदायको मौलिकता, कला, संस्कृति, पेशा र सारंगीको प्रयोग र भाषा अमर्यादित ढंगले प्रस्तुत गरिएको हुँदा उक्त दृश्यमाथि आपत्ति रहेको भनिएको छ।
पिज्ञप्तिमा कार्यक्रममा प्रस्तुत गरिने गन्धर्व पात्र र सारंगी प्रयोगको प्रसारणलाई तत्काल रोकी सम्पूर्ण श्रृंखलाबाट सो पात्रको भिडियो हटाएर सार्वजनिक रूपमा माफी माग्न आग्रह गरिएको छ। त्यसो नगरिए कानूनी सहायत लिई अघि बढ्ने संगठनको चेतावनी छ।
सोमबार प्रसारित कमेडी क्लब विथ च्याम्पियन्सको ६७औं भागमा कलाकार पवन भट्टराईले सारंगीवादक पात्रको भूमिका निर्वाह गरेका थिए। उनको प्रस्तुतीमाथि गन्धर्व समाजले औंला उठाएको हो।
असार १४, २०८० बिहीबार २०:३४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।