तरुण दलको केन्द्रीय सदस्यमा कर्णालीबाट महिला र दलित शून्य, असन्तुष्ट समूह भन्छ- अध्यक्षज्यूलाई चाकडी नपुगेर होला

तरुण दलको केन्द्रीय सदस्यमा कर्णालीबाट महिला र दलित शून्य, असन्तुष्ट समूह भन्छ- अध्यक्षज्यूलाई चाकडी नपुगेर होला

सुर्खेत : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलमा बुधबार पार्टी सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा चार सय जनालाई केन्द्रीय सदस्यमा मनोनित गरे।

मनोनित केन्द्रीय सदस्यमध्ये कर्णालीका १० जिल्लाबाट ३३ जना मात्र समावेश हुँदा त्यहाँ महिला र दलितको सहभागिता शून्य देखियो। कर्णालीमा मनोनित भएकाहरू खसआर्य समुदायबाट ३२ जना र आदिवासी जनजाति समुदायबाट एक जना छन्।

नेपाली कांग्रेसको विधानले वडादेखि केन्द्रसम्म समावेशी समानुपातिक सहभागिता र आरक्षणलाई प्रतिनिधित्व गर्ने व्यवस्था गरे पनि तरुण दलको केन्द्रीय सदस्य मनोनयनमा विधानको धज्जी उडाइएको पाइयो।

मनोनित प्रक्रिया पार्टीको विधान अनुसार नभएको भन्दै पार्टीभित्रैबाट विरोधका आवाजहरू उठ्न थालेका छन्।

तरुण दल कालिकोटका पूर्व सहसचिव देवेन्द्र शाहीले भने, ‘मनोनयनको प्रक्रिया पार्टीको विधान अनुरूप छैन। समावेशिता छैन। नेताको खल्तीबाट मान्छेहरू मनोनित गरिएको छ। कर्णालीबाट पार्टीमा लामो त्याग गरेका नेताहरूसमेत कार्यसमितिमा पर्न सकेका छैनन्। बरु नेवि संघ, पार्टी र अन्य संस्थाका पूर्व पदाधिकारी नेताको गुलाम गर्नेहरू नै मनोनित भएका छन्।’

तरुण दलकी केन्द्रीय पार्षद् भगवती देवकोटाको भनाइ पनि यस्तै छ। आफू २०५९ सालदेखि नेविसंघको जिल्ला उपाध्यक्ष रहेको र लामो समयसम्म तरुण दलमा राजनीति गरे पनि पार्टीले महिलालाई उपेक्षा गरेकोमा उनले चित्त दुखाइन्।

‘२०५९ सालदेखि नेविसंघ हुँदै तरुण दलसम्म आउँदा मैले कांग्रेसमा लामो समयसम्म दुःख र संघर्ष गरेकी छु। जुनसुकै अवस्थामा पनि कर्णालीबाट मेरो नाम केन्द्रीय सदस्यमा नछुट्ने अवस्था थियो,’ नेता देवकोटाले भनिन्, ‘तर, अन्तिम समयमा आएर मेरो नाम लिष्टबाट हटाएर महिला सहभागिता शून्य गराइयो। सायद मैले तरुण दलका केन्द्रीय अध्यक्षज्यूलाई चाकडी गर्न नसकेर होला।’

यस्तै, तरुण दलको यो निर्णयप्रति कर्णालीमा दलित समुदायले पनि असन्तुष्ट व्यक्त गरेको छ।

पार्टीको विधानले नै विभिन्न कलष्टर गरी आरक्षणको व्यवस्था गरेका बेला सिमिति व्यक्तिहरूको स्वार्थका कारण तरुण दलमा दलित समुदायको सहभागिता शून्य बनाएको नेपाल दलित संघका केन्द्रीय महाधिवेशन प्रतिनिधि सञ्जुसिंह विश्वकर्माले बताए।

‘कांग्रेसको १० लाख क्रियाशील सदस्यमध्ये साढे ४५ हजार बढी दलित समुदायका सदस्य छन्। त्यसैमा पनि कर्णालीमा दलितको बाहुल्यता बढी छ,’ नेता सिंहले भने, ‘केही दिनअघि मनोनित गरेको महिला संघको कार्यसमितिमा पनि दलितको सहभागिता न्यून गराइयो। अहिले तरुण दलमा त झन् कर्णालीबाट शून्य नै बनाइयो। यो दलित समुदायका लागि दुःखद् कुरा हो।’

कांग्रेसका नेतृत्वहरूले विधानमा विभिन्न कलष्टर बनाएर महाधिवेशनमा आफूहरूलाई प्रयोग मात्रै गर्न खोजेको अरोप सुनारको छ।

असार १४, २०८० बिहीबार १९:२४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।