एमालेमाथि हमला गरेर काेशी प्रदेशको समस्या हल हुँदैन : योगेश भट्टराई

एमालेमाथि हमला गरेर काेशी प्रदेशको समस्या हल हुँदैन : योगेश भट्टराई

काठमाडौं : एमाले सचिव योगेश भट्टराईले पार्टी र पार्टी नेतृत्वमाथि हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै सचिव भट्टराईले उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका आफूहरूलाई मान्य नहुने बताएका हुन्।

सचिव भट्टराईमाथि बिहीबार इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए।

७२औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका भट्टराईलाई प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले इलाममा कालो झण्डाले स्वागत गरेको बताएका छन्।

‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ। उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन,’ आक्रमणको प्रयासपछि सचिव भट्टराईले लेखेका छन्,‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन। एमाले वार्ता र संवादका लागि हरबखत तयार छ।’

एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी भएको उनले बताएका छन्। मदन भण्डारीको स्मरणमा गरिएको कार्यक्रम बिथोल्नु लज्जाको विषय भएको उनले उल्लेख गरेका छन्।

असार १४, २०८० बिहीबार १८:३२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।