बल्छी धुर्बे र राजु मास्टर जेल परेपछि के हुन्छ ‘जुठे’ र ‘हल्का रमाइलो’को आगामी भाग
काठमाडौं : टेलिभिजनबाट प्रशारण भइरहेका सिरियलका चर्चित कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर) अहिले प्रहरी हिरासतमा रहेका छन्।
अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन गरेको आरोपमा उनीहरुसँगै अन्य कलाकारहरु पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) र सरोज घिमिरे (ढेडुे बुढो) सँगै प्राङ्कर एलिश राई पनि जेलमै छन्।
गत जेठ ३२ गते प्रहरीले आठ जनालाई पक्राउ गरि काठमाडौं जिल्ला अदालतको अनुमति लिएर हिरासतमा राखिरहेको छ।
बल्छी धुर्बे र राजु मास्टरको हास्य शृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ हिमालय टीभीबाट नियमित प्रसारण हुँदै आइरहेको छ।
अब यी दुई कलाकार गत सातादेखि जेलमा रहेपछि उनीहरूद्वारा लेखन तथा निर्देशनमा बनेको यि दुई सिरियल अब आउँछ कि आउँदैन भन्ने चासो सबैको छ।
बुधबार बेलुका साँढे ८ बजे प्रसारण भइरहेको ‘जुठे’को बनिसकेको अब एक भाग मात्र बाँकी रहेको छ। यो भाग सकिएपछि अर्को भाग स्टक राखिएको छैन। यस कारण बल्छी धुर्बे र राजु मास्टर हिरासत बाहिर नआएको खण्डमा प्रसारण रोकिने सम्भावना छ।
यस सिरियलका कलाकार मुकुन्द मैनालीले जुठेको एक भाग अझै बाँकी रहेको र अर्को सातासम्म बल्छी र राजु हिरासत मुक्त नभए केही दिनका लागि प्रसारण रोकिन सक्ने सम्भावना रहेको बताए। यदि उनीहरु बाहिर नआएको खण्डमा एक दुई भाग रोकिन सक्ने उनले जानकारी दिए।
सिरियल ‘जुठे’ लमजुङमा सुटिङ हुँदै आएको थियो। एक साताका लागि लमजुङका विभिन्न भागमा सिरियल छायंकन हुँदै आएको थियो। त्यहाँ जानका लागि अन्य कलाकार तथा व्यवस्थापनको जिम्मा बल्छी र राजु आफैंले गर्दै आएका थिए।
एपीवानबाट प्रशारण भइरहेको अर्को सिरियल ‘गाह्रो छ हो’ का कलाकार तथा लेखक भटभटे माइला पनि जेलमा छन्। तर यो सिरियललाई भने उनी नहुँदा पनि मनराज श्रेष्ठले निर्देशन गरिरहेका छन्।
यता पवन खतिवडा म्याकुरी भने ‘ख्याल ठट्टा’का मुख्य कलाकार हुन्। उनी नहुँदा सिरियलमा खासै प्रभाव परेको देखिंदैन।
असार १४, २०८० बिहीबार १६:३२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।