श्रीमतीलाई साई स्वागत सहकारीको उपाध्यक्ष बनाए पनि राजीनामा दिइसकेको रविको दाबी

श्रीमतीलाई साई स्वागत सहकारीको उपाध्यक्ष बनाए पनि राजीनामा दिइसकेको रविको दाबी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्षमा आफ्नो पारिवारिक सदस्य रहेको तर राजीनामा दिइसकेको दाबी गरेका छन्। 

माइतीघरमा धर्नामा रहेकी सहकारी पीडितसँग उनले परिचित साथीहरूबाटै उपाध्यक्ष बस्न आग्रह गरेपछि परिवारको सदस्य (श्रीमती) बसेको बताए। आफूले सो सहकारीबाट ऋण लिएको तर कुनै पनि सहकारीमा लगानी नरहेको बताएका हुन्।

त्यस सहकारीमा उनकी श्रीमती निकिता पौडेल उपाध्यक्ष छिन्। उनले राजीनामा दिइसकेको दाबी गरिए पनि सम्बन्धित निकायमा भने उनको राजीनामा पुगेको छैन।

उक्त सहकारीले बचतकर्ताको ५ करोड रुपैयाँ फिर्ता नगरेको भन्दै काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा उजुरी परेको छ।

सहकारीका अध्यक्ष भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा परिचित भरत जंगम हुन्। 

केही दिन अगाडि माइतीघरमा धर्नामा रहेकी एक सहकारीकी पीडित बचतकर्ताले लामिछानेले साथ नदिएको भन्दै आक्रोश पोखेको थिइन्। त्यस क्रममा ती महिलाले लामिछानेकी श्रीमती पनि ठगीमा संलग्न रहेको आरोप लगाएकी थिइन्। उक्त भिडियो भाइरल भएपछि आरोप लगाउने ती महिलालाई लामिछाने भेट्न गएका थिए। 

ती महिलासँगको भेटमा लामिछानेले सो सहकारीबाट आफूले ऋण लिएको बताए पनि कति र कुन प्रयोजनका लागि लिएको भने खुलाएनन्।  

लामिछानेले केही परिचितहरूको आग्रहमा सहकारीको उपाध्यक्षमा परिवारको सदस्य बसेको र सहकारीमा गडबड छ भन्ने थाहा पाएपछि राजीनामा दिएको दाबी गरेका थिए। 

उकेराले प्राप्त गरेको सूचनाअनुसार लामिछानेले सो सहकारीबाट ५० लाख रुपैयाँ ऋण निकालेका थिए। सहकारीका अध्यक्ष जंगमसँग निकट सम्बन्ध रहेको आधारमा उनले विवाहका बेला सहकारीबाट ऋण निकालेका थिए। 

तर लामो समयसम्म सहकारीले ऋण चुक्ता नगरेपछि जंगमले आफू निकटहरूसँग लामिछानेले लगेको ऋण फिर्ता नगर्दा समस्या भएको गुनासो गरेका थिए। 

यसबारे जंगमसँग सम्पर्क गर्ने उकेराको प्रयास सफल भएन।

यो पनि पढ्नुहोस्

असार १४, २०८० बिहीबार १४:००:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।