नमाज पाठ गरी मनाइयो बकर ईद

नमाज पाठ गरी मनाइयो बकर ईद

काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लास पूर्वक मनाइएको छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन्। 

नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने विधि छ। यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेका थियो।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वध्यक्ष निर्दोष अलीले बताए।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ।

असार १४, २०८० बिहीबार १२:१६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।