५० लाख दाइजो माग्ने ग्रिन कार्ड होल्डर दुलाहा पाँच दिन हिरासतमै

५० लाख दाइजो माग्ने ग्रिन कार्ड होल्डर दुलाहा पाँच दिन हिरासतमै

काठमाडौँ : विवाह गर्न अमेरिकाबाट नेपाल आएर ५० लाख दाइजो माग्दै दुलही पक्षलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका अनुराग रौनियार पाँच दिन हिरासतमा बस्ने भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर विवाह सम्बन्धी कसुरमा न्यायिक हिरासतमा राख्न अदालतसँग म्याद मागेको थियो। बुधवार अदालतले पाँच दिने म्याद दिएको परिसरले जानकारी दिएको छ।

उनीमाथि मागेजति दाइजो प्राप्त नभएको र जन्तीलाई राम्रो स्वागत नभएको भन्दै दाइजो नपाए विवाह रद्द गर्ने अडान लिई मण्डपमा रहेकी बेहुलीलाई समेत गाली बेईजती तथा हातपात गरेको आरोप लागेको थियो।

सुनसरी दुहबी नगरपालिका वडा नं. ६ स्थायी घरभई हाल काठमाडौँको वडा नं. १३ ताहाचलमा बस्ने उनी अमेरिकाको ग्रिन कार्ड प्राप्त व्यक्ति हुन्।

३२ वर्षका रौनियारलाई प्रहरीले मङ्गलवार पक्राउ गरेर विवाह सम्बन्धी कसुर लगाएको थियो।

मङ्गलवार काठमाडौँ महानगरपालिका वडा नं. १ नक्साल स्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै थियो।

बेहुला पक्षले आफूहरूले मागेजती दाइजो नपाएको भनी विवाह रद्द गर्ने निर्णय गरेको विषयलाई लिई दुई पक्षबिच विवाद भएको भन्ने सूचनाका आधारमा प्रहरी पुगेको थियो।

मागे बमोजिम दाइजो प्राप्त नभएको र जन्तीलाई  राम्रो स्वागत समेत नभएको भनी विवाद गरी पचास लाख रुपैयाँ दाइजो नपाए विवाह रद्द गर्ने अडान लिएर दुलाहाले मण्डपमा रहेकी बेहुलीलाई समेत गाली बेईजती तथा हातपात गरेको खुलेपछि मण्डपबाटै पक्राउ गरेको थियो।

असार १४, २०८० बिहीबार ००:१७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।