संयुक्त राष्ट्रसंघका उपमहासचिव र सशस्त्र प्रहरी महानिरीक्षक बीच शिष्टाचार भेटवार्ता

संयुक्त राष्ट्रसंघका उपमहासचिव र सशस्त्र प्रहरी महानिरीक्षक बीच शिष्टाचार भेटवार्ता

काठमाडौं : संयुक्त राष्ट्र संघका अन्डर सेक्रेटरी जनरल फर पेस अपरेसन जिन पिरी लाक्रोइक्स र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच भेटवार्ता भएको छ।

बुधबार सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा भएको शिष्टाचार भेटमा संयुक्त राष्ट्र संघ र सशस्त्र प्रहरी बल नेपाल बीचको सहकार्य र समन्वयलाई आगामी दिनहरूमा अझ बढि प्रभावकारी बनाउने बिषयमा छलफल भएको छ।

सो क्रममा उपमहासचिव लाक्रोइक्सले शान्ति स्थापनाको लागि संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर सशस्त्र प्रहरी बल नेपालले पुर्याएको योगदानको प्रशंसा गरेका थिए।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संयुक्त राष्ट्रसंघको झण्डामुनि रहेर मानवअधिकार तथा मानवीय कानूनको पूर्ण पालना गर्दै शान्ति स्थापनार्थ सशस्त्र प्रहरी बल नेपाल प्रतिवद्धका साथ परिचालित रहेको समेत उल्लेख गरे।

भेटको क्रममा अन्डर सेक्रेटरी फर पेस अपरेसन्स जीन पिरी लाक्रोइक्स समक्ष मालिमा हालका दिनहरूमा विकसित घटनाक्रम तथा अवस्था र माली देशले नै त्यहाँ तैनाथ रहेको १५ हजार भन्दा बढि फौजलाई फर्काउन सक्ने बुझिएकोले अर्को महिना माली मिशन उडानको लागि तयारी हालतमा रहेको सशस्त्र प्रहरी बल नेपालको एफपीयु टोलीलाई छिटो भन्दा छिटो अन्यत्र तैनाथीको लागि पहिलो प्राथमिकतामा राख्न समेत अनुरोध गरिएको थियो।

यसका साथै भेटघाटको क्रममा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट एफपीयु मिशन थप तथा प्रोफेसनल र आईपीओ कोटा बढाउने सम्बन्धमा समेत छलफल भएको थियो।

सोही अवसरमा उपमहासचिव लाक्रोइक्सले एउटा एफपीयु मिसन जतिसक्दो छिटो तैनाथ गर्ने विषयमा सकारात्मक जवाफ दिएका थिए।

असार १३, २०८० बुधबार २०:२८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।