लुम्बिनीका मुख्यमन्त्रीले आफ्नै संस्थालाई छुट्याए डेढ करोड बजेट
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफू संरक्षक रहेको संस्थामा करोडौं सरकारी रकम विनियोजन गरेको पाइएको छ।
२०७५ सालमा दाङको दंशीशरण गाउँपालिका–३ चखौरामा आफैँले स्थापना गरेको थारु सांस्कृतिक संरक्षण केन्द्रमा मुख्यमन्त्री चौधरीले विभिन्न शीर्षकमा १ करोड ६० लाख विनियोजन गरेका हुन्।
यसअघि मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री हुँदासमेत उनले केन्द्रमा करोडौं रकम खन्याएका थिए। उनले वर्षेनी त्यहाँ करोडौं सरकारी रकम लैजाने गरेका छन्।
ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस)को नाममा रहेको जग्गामा थारू सांस्कृतिक संरक्षण केन्द्र सञ्चालनमा छ। बेसको अध्यक्ष हाल धनगढीका यज्ञ बहादुर चौधरी छन् भने केन्द्रको प्रमुख संरक्षक मुख्यमन्त्री चौधरी आफैँ छन्।
आर्थिक वर्ष २०८०/८१ को बजेटबाट केन्द्रका नाममा पर्यटन डिजिभन कार्यालय बाँके र सामाजिक विकास डिभिजन कार्यालय दाङ मार्फत १ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।
केन्द्रमा रहेको थारु घर विश्राम गृहको माथिल्लो तलाका लागि भन्दै ३० लाख, थारु सांस्कृतिक संग्रहालय व्यवस्थापन, मुर्ति निर्माण, खरिद तथा पूर्वाधार निर्माणका लागि ५० लाख बजेट छुट्याइएको छ।
त्यसैगरी मुख्यमन्त्री चौधरीले सामाजिक विकास डिभिजन कार्यालय दाङ मार्फत गर्ने क्षमता अभिवृद्धि तालिमका लागि पनि ३० लाख बजेट पारेका छन्। उक्त बजेटबाट तुल्सीपुर उपमहानगरपालिका भित्रका महिलाहरूका लागि अभिवृद्धिमुलक तालिम थारु संस्कृति संरक्षण केन्द्र मार्फत दिइने बजेटमै उल्लेख छ।
यसैगरी चखौराकै थारु संग्रालय तथा पार्क निर्माण (अन्य सार्वजनिक निर्माण) शिर्षकमा पनि ५० लाख बजेट विनियोजन गरिएको छ।
थारू समुदायको कला, संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि संस्था स्थापना गरिएको देखाइए पनि त्यहाँ संग्रहालयको आडमा बुलबुले थारू पाहुना घरको नामबाट होटल सञ्चालन गरिएको छ। त्यस्तै, माछापालन तथा पिकनिक स्पट पनि सञ्चालन गरिएको छ।
थारू सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष राजेश चौधरीले संस्था थारू समुदायको कला, संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि काम गरिरहेको र सरकारबाट विनियोजित बजेट केन्द्रको पूर्वाधार निर्माण र व्यवस्थापनमा खर्च गरिने बताए।
‘हामीले यो थलोलाई अध्ययन अनुसन्धानको केन्द्र बनाउने गरी लागेका छौँ। देख्दा रकम ठूलो देखिए पनि यो रकम संस्कार संस्कृतिको काम गर्दा खर्च हुने हो’, उनले भने।
उनले थारु जातीभित्र पनि विभिन्न संस्कार, संस्कृति, रितिरिवाज, कर्महरू भएको भन्दै सबैको पहिचान झल्काउने गरी संग्रहालयमा मुर्ति निर्माण गर्न लागेको बताए।
‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै थारुहरूको ऐतिहासिकता यहाँ प्रस्तुत गर्न लागिएको छ,’ उनले थपे, ‘यो थारु जातीको अध्ययन अनुसन्धानको थलोसमेत बनाउने गरी हामी लागेका छौँ। विनियोजित रकम त्यहि अनुसार खर्च हुन्छ।’
उनले मुख्यमन्त्री चौधरीकै पहुँचमा बजेट नपरेकोसमेत जिकिर गर्दै थारु जातीको पहिचान झक्लिएको भन्दै बजेट दुरुपयोग नभएकोसमेत दाबी गरे।
कस्तो छ थारु संग्रहालय?
संग्रहालयमा थारु जातीको कला, संस्कृति, रितिरीवाजसँगै थारु जातिका प्रथम राजा दंगिशरणको प्रतिमा समेत स्थापना गरिएको छ।
सांस्कृतिक संग्रहालयमा थारु समुदायले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारहरू राखिएको छ।
थारु जातिले जन्मदेखि मृत्युसम्मका गतिविधि र परम्परालाई अध्ययन गर्न चाहने व्यक्तिलाई समेत संग्रहालय उपयोगी रहेको छ।
साढे चार विघा क्षेत्रफलमा फैलिएको सांस्कृतिक संग्रहालयमा थारु जातिले राज्य गर्दाखेरी विभिन्न चरणहरू अवलोकन गर्न पाइन्छ।
संग्रहालय रहेको दंगीशरण वडा नम्बर ३ का बासिन्दालाई अवलोकन निःशुल्क भने अन्यका लागि ५० रूपैयाँ प्रवेश शुल्क तोकिएको छ। यस्तै, अपांगता भएका र जेष्ठ नागरिकलाई भने ३० रूपैयाँ शुल्क छ।
मूर्तिको मर्मत र विद्युत् खर्च पुर्याउनका लागि प्रवेश शुल्क राखिएको केन्द्रका अध्यक्ष राजेश चौधरीले बताए।
असार १३, २०८० बुधबार १६:०४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।