सामुहिक बलात्कारपछि घाँटी रेटी हत्या, ४४ वर्ष कैद तोकिएका फरार थोकर १२ वर्षपछि पक्राउ

सामुहिक बलात्कारपछि घाँटी रेटी हत्या, ४४ वर्ष कैद तोकिएका फरार थोकर १२ वर्षपछि पक्राउ

काठमाडौं : सामुहिक बलात्कारपछि घाँटी रेटी हत्यामा संलग्न फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १२ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको छतिवन गाविस–९ कालीखोला घर भई हाल हेटौंडा उप महानगरपालिका–१७ घर भएका ३३ वर्षीय सुर्य थोकर भन्ने सुर्य बहादुर थोकर रहेका छन्।

थोकरलाई गत आइतबार सीआईबीको टोलीले  उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित गाईघाटबाट पक्राउ गरेको थियो।

२०६८ असोज २६ गते मकवानपुर छतिवन गाविस–९ दोभान स्थित ठुलीकान्छी बललाई गणेश घ्यावा, चेत बहादुर भोलन, सुर्य थोकर भन्ने सुर्य बहादुर थोकरले पालै पालो बलात्कार गरी घाँटी रेटी हत्या गरेका थिए।

सोही अभियोगमा मकवानपुर जिल्ला अदालतले २०७८ वैशाख ५ गते फैसला गर्दै थोकरलाई ४४ वर्ष कैद सजाय तोकेको थियो। उनी घटनाको सुरुवातदेखि नै फरार थिए।

थोकरमाथि ज्यान मारेको तर्फ जन्मकैद अर्थात् २० वर्ष, ज्यान मार्ने षडयन्त्र गरेकोमा १२ वर्ष, जबरजस्ती करणी गरेकोमा ७ वर्ष र सामूहिक रूपमा जबरजस्ती करणी गरेकोमा ५ वर्ष गरी ४४ वर्ष सजाय तोकिएको थियो।

उनलाई थप कानूनी कारबाहीको लागि मकवानपुर जिल्ला अदालत पेश गरिएकोमा कैद भुक्तानको लागि भिमफेदी कारागार पठाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

असार १३, २०८० बुधबार १५:०९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।