गर्मी र वर्षा लागेसँगै दाताहरू नआउँदा बुटवलमा रगत अभाव

गर्मी र वर्षा लागेसँगै दाताहरू नआउँदा बुटवलमा रगत अभाव

बुटवल : बुटवलमा रगतको अभाव हुन थालेको छ। बजारमा रगतको उच्च माग भए भए पनि नियमित रगत संकलन हुन सकेको छैन। 

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र बुटवलका ल्याब टेक्निसियन वारेश खाँले अहिले रक्तदानका कार्यक्रमहरू कम हुँदा रगत अभाव भएको बताए।

‘गर्मी समयमा धेरै संघसंस्थाले रक्तादानका कार्यक्रम आयोजना गरेनन्। त्यसको परिणाम अहिले देखिएको छ’, उनले भने। 

अन्य समयमा रक्तसञ्चार केन्द्र बुटवलका फ्रिजमा खचाखत रगतका पोका हुने गरे पनि अहिले फ्रिज नै रित्ता छन्। ‘रगत निकालेपछि त्यसलाई परीक्षण गरेर दिने गरेका छौँ। रगत होल्ड हुनै पाएको छैन,’ उनले भने। 

दैनिक ९० पोका रगत माग हुने गरेकामा अहिले रक्तसञ्चार केन्द्र बुटवलबाट दैनिक ५० देखि ६० पोका मात्र रगत उपलब्ध हुने गरेको छ। केन्द्रमा केही ‘ओ’ पोजेटिभ रगत स्टकमा रहे पनि अन्य ब्लड ग्रुपको रगत भने अभाव छ। केन्द्रमा ‘ए’, ‘बी’ र ‘एबी’ ग्रुप रगतको माग बढी छ। 

केन्द्रकी सदस्यसचिव राधा शर्माले ब्लड बैंकमा रगत अभाव भएकाले रक्तदान गर्न सबैलाई आग्रह गरिन। अहिले पनि ब्लड बैंकमा बिहानैदेखि भीड हुने गर्छ। कतिपयले रगत दिने व्यक्तिलाई ब्लड बैंकमा लगेर रक्तदान गराएका छन्। रगत नदिनेहरूलाई पनि रगत भने दिएर पठाइने गरिएको छ। 

ब्लड क्यान्सर, सुत्केरी, डायलाइसिस गर्ने बिरामी लगायतमा बढी रगतको खपत हुने गरेको उनले बताइन्। रगत अभाव भएपछि नेपाल स्वयंसेवी रक्तदाता समाज, नेपाल नियमित रक्तदाता संघलगायत रक्तदान गराउने संघसंस्थाहरूले आकस्मिक रक्तदानका कार्यक्रमहरू गरिरहेका छन्। 

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले रगतको माग बढी भएको भन्दै रक्तदान गर्न सबैलाई आग्रह गरे। ‘अहिले धेरैले रगत चाहिएको भनेर भन्नुभएको छ। रगत पाउन कठिन भए पनि हामीले व्यवस्थापन गरिरहेका छौँ’, उनले भने। 

मौसमका कारण पनि रक्तदान कम भएको चौहानले बताए। उनका अनुसार अहिले वार्षिक ३५ हजार युनिट रगत आवश्यकता भए पनि त्यहीअनुरूप रक्तदान हुन नसक्दा पनि बेला बेलामा अभाव हुने गरेको छ।  

अहिले बुटवलमा सबैभन्दा बढी रगतको खपत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा हुने गरेका छ। त्यहाँ दैनिक ३० देखि ३५ युनिट रगत मिर्गौला डाइलासिसका लागि ब्लड बैंकबाट जाने गरेको छ। 

‘अहिले ब्लड बैंकले मात्र रगत दिने गर्छ। कम्तीमा १ सय बेड भएका अस्पताल आम्दा, लुम्बिनी प्रादेशिक अस्पतालले पनि आफ्नै ब्लड बैंक राखे माग अनुसार रगत पूर्ति गर्न सजिलो हुने थियो’, उनले भने। 

त्यस्तै ब्लड बैंकले पनि ३ सिफ्टमा काम गरे पनि रगत संकलन धेरै हुने उनले बताए। सामान्यतः रक्तदान गर्ने संघ संस्थाले शनिबार बढी समय माग गरे पनि ब्लड बैंकले बढीमा २ सिफ्ट मात्र रक्तदान गर्न समय दिने गरेको छ।

कर्मचारी व्यवस्थापन गरेर ३ सिफ्टमा रक्तदान गराउन सके रगत संकलन बढ्छ। 

नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारीले रगतको माग धेरै तर दाता कम हुँदा रगत अभाव भएको बताए। अहिले रक्तदाताहरूलाई बोलाएर भए पनि रगतको व्यवस्थापन गरिरहेको उनले बताए। 

रुपन्देहीका १३ पालिकाले गरे सम्झौता

रुपन्देहीका १६ मध्ये १३ पालिकाले स्थानीयलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति गरेका छन्। रक्तसञ्चार केन्द्र बुटवलमा सम्झौता गरेका १३ वटा पालिकाका नागरिकले रगत लैजानुपरेमा कुनै पनि शुल्क तिर्नु पर्दैन। परिचय खुल्ने कुनै पनि कागजपत्र (रक्ततत्व परिचय पत्र, नागरिकता, बसाइसराइँ, विवाह दर्ता तथा जन्मदर्ता) लिएर ब्लड बैंक पुगे रगतको पैसा तिर्नु पर्दैन।

जिल्लाका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाले निःशुल्क रगतका लागि ब्लड बैंकसँग सम्झौता गरेका छन्। 

त्यस्तै सियारी, शुद्धोधन, कञ्चन, ओमसतिया, कोटहीमाइ, सम्मरीमाइ, रोहीणी, गैडहवा, मायादेवी र मर्चवारी गाउँपालिकाले पनि निःशुल्क रगतका लागि सम्झौता गरेका छन्।

त्यस्तै भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालबाट पनि रगत लिन जाँदा कुनै पनि शुल्क तिर्नु पर्दैन। 

सैनामैनाले भने बजेट अभावका कारण वैशाखदेखि निःशुल्क रगत लैजान रोकेको छ। आगामी आर्थिक वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिने उसले बताएको छ। 

प्रदेश सरकारले समेत रगत निःशुल्क उपलब्ध गराउने बताइरहेको छ। प्रदेशले उपलब्ध गराउने भनेको निःशुल्क रगत बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका बिरामी र भैरहवाको भीम अस्पतालका बिरामीहरूका लागि हो। पालिकाको हकमा भने उनीहरूले आफै सहमति गरेका हुन्। 

‘रेडक्रसका व्यक्तिहरू नै पालिकामा गएर सहमति गरे। रगतको मूल्य पहिलेको तुलनामा ३१ प्रतिशत बढाए। एकमुष्ठ रकम पालिकाबाट लिन सजिलो मानेर सहमति गर्दा केहीमा समस्या पनि देखिएको छ’, एक अभियन्ताले भने।

रेडक्रसले पहिले ७२५ रुपैयाँमा एक युनिट रगत दिए पनि अहिले बढाएर ९५० सय रुपैयाँ बनाएको छ।

असार १३, २०८० बुधबार ०९:५१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।