एकै जिल्लाबाट वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

एकै जिल्लाबाट वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) : नवलपुरबाट वैदेशिक रोजगारीमा गएका २८ जनाको मृत्यु भएको छ। 

यो चालु आर्थिक वर्षको हालसम्मको तथ्यांक हो। 

वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार यस वर्ष २७ पुरुष र एक महिलाको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ।

ज्यान गुमाउनेमा देवचुलीका सात, कावासोतीका ६, मध्यविन्दुका ६, गैँडाकोटका चार, विनयी त्रिवेणीका तीन र हुप्सेकोटका एक जना छन्।

अत्यधिक समय काम गर्ने, भनेजस्तो नहुँदा तनावमा काम गर्नेलगायत कारणले ज्यान गुमाउने गरेको पाइएको कार्यक्रमका परामर्शदाता रञ्जना लम्सालले बताइन्। अत्यधिक रकम खर्चेर विदेश जाँदा धेरै आम्दानी गर्ने दबाबका कारण लगातार काम गर्दा कतिपय घटना हुने गरेको उनले बताइन्। 

संयोजक सोतीका अनुसार एक वर्षमा वैदेशिक रोजगारसम्बन्धी नवलपुरमा एक सय ८८ मुद्दा दर्ता भएका छन्।

तथ्यांकअनुसार ठगीमा पर्नेको संख्या सबैभन्दा बढी छ। एक सय ८८ मध्ये एक सय १८ मुद्दा ठगीसम्बन्धी रहेका छन्। उद्धारसम्बन्धी ३०, मृत्युका ३० र अन्य प्रकृतिका १० मुद्दा १० छन्। 

असार १३, २०८० बुधबार ०७:५०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।