विश्कप छनोटको प्लेअफमा नेपालले युएईसँग खेल्ने पक्का
काठमाडौं : नेपालले आईसीसी विश्वकप छनोटको ‘प्लेअफ’ मा युएईसँग खेल्ने भएको छ।
जिम्बावेमा भइरहेको समूह चरणको अन्तिम खेलमा यूएई आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएपछि ‘प्लेअफ’मा नेपालसँगको भेट पक्का गरेको हो।
युएईसँगको खेल २ जुलाईमा हरारेमा दिउँसो पौने १ बजे हुनेछ।
आयरल्यान्डसँग पराजित भएपछि चार खेलबाट अंकविहीन हुँदै युएई समूह ‘बी’को पुच्छारमा छ भने एक खेलमा जित निकालेको नेपाल समूह ‘ए’को चौथो स्थानमा छ।
यस्तै यूएईलाई हराएको आयरल्यान्डले अमेरिकासँग जुन ३० मा ‘प्लेअफ’ खेल्नेछ।
यो दुई खेलको विजेताले सातौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछ भने पराजित टोली आठौं स्थान कायम गर्नेछ।
प्लेअफको सेमिफाइनलमा पराजित दुई टोलीबीच भने नवौँ स्थानका लागि फेरि अर्को खेल हुनेछ।
समूह ‘ए’ बाट जिम्बावे शीर्ष, नेदरल्यान्ड्स दोस्रो र वेस्ट इन्डिज तेस्रो स्थानमा रहँदै ‘सुपर सिक्स’ मा पुग्दा समूह ‘बी’बाट श्रीलङ्का शीर्ष, स्कटल्यान्ड दोस्रो र ओमान तेस्रो भए।
‘सुपर सिक्स’ का शीर्ष दुई टोलीले आउँदो अक्टोबर र नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछन्।
विश्वकपको तालिका पनि मंगलबार नै प्रकाशित भइसकेको छ।
असार १२, २०८० मंगलबार २१:१२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।