विश्वकप छनोट : आयरल्यान्ड १३८ रनले विजयी, युएईले चारै खेलमा पराजित

विश्वकप छनोट : आयरल्यान्ड १३८ रनले विजयी, युएईले चारै खेलमा पराजित

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोट अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा आयरल्यान्डले युएईलाई १३८ रनले पराजित गरेको छ।

जिम्बावेको बुलाभायोमा ३५० रनको लक्ष्य पछ्याएको युएईलाई ३९ ओभरको समाप्तीमा २११ रनमा समेटेपछि आयरल्यान्डले प्रतियोगितामा पहिलो जित निकालेको हो।

लक्ष्य पछ्याउने क्रममा युएई मोहम्मद वसीमले ४५, सञ्चित शर्माले ४४, बसील हमीदले ३९, आर्यन्श शर्माले १८, अली नासीरले १३, भ्रित्य अरविन्दले १० रन बनाए।

मोहम्मद जवादुल्लाह १३ रनमा नटआउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

आयरल्यान्डका कुर्टिस च्याम्पर, जर्ज डकरेल, एन्डी म्याकब्रिन र जोश लिटलले समान दुई–दुई विकेट लिँदा बेरी म्याककार्टीले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको आयरल्याण्डने निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३४९ रन बनायो।

उसका लागि पल स्ट्रर्लिङले १६२ रनको शतकीय पारी खेल्दा एन्डी बलबिनले ६६ र ह्यारी टेक्टरले ५७ रनको अर्धशतकीय पारी खेले।

यस्तै, एन्डी म्याक्ब्रिनले २४ रन बनाउँदा लोरकान टुकर र जर्ज डकरेल क्रमशः १९ र १५ रन बनाएर अविजित रहे।

युएईका सचित शर्माले तीन तथा अली नासीरले एक विकेट लिए।

यी दुवै टोली सुपर सिक्सको दौडबाट बाहिरिसकेका छन्।

असार १२, २०८० मंगलबार २१:०१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।