डोल्पामा हतियारधारी समूहले दुई गुम्बा लुटे अनि लामा कुटे
सुर्खेत : उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा हतियारधारी समूहले गुम्बामा प्रवेश गरेर लुटपाट गरेका छन्।
समूहले असार ८ र ९ गते राति गाउँपालिकाको वडा नम्बर ४ मा रहेको देछेन लाब्राङ गुम्बा र ३ नम्बरमा रहेको शे–चखाङ गुम्बामा राति हतियारसहित प्रवेश गरी लुटपाट गरेको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी भीमप्रसाद ढकालले बताए।
उनका अनुसार ती लुटेराहरूले गुम्बामा रहेका मूर्ति, नगद, पूजा सामग्री लगायतका पुरातात्विक सम्पदाहरू समेत चोरी गरेका छन्। सञ्चारको कमी र भौगोलिक समस्याका कारण सोमबार मात्रै जानकारी आएपछि घटनास्थलमा प्रहरी पुगेको छ।
‘घटना अगाडिको रहेछ। सोमबार मात्रै हामीसँग सूचना आयो। त्यसपछि प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको छ,’ प्रमुख ढकालले भने, ‘घटनाको विस्तृत विवरण बुधबार मात्रै आउने छ। उक्त घटनाको सत्यतथ्य छानबिन गर्न हामीले अन्य सुरक्षा निकायसँग पनि समन्वय गरेका छौँ।’
प्रहरीका अनुसार ६–७ जनाको हतियारधारी समूह गाउँ नै प्रवेश गरेपछि स्थानीयमा त्रास बढेको छ। देछेन लाब्राङ गुम्बाका लामा लाडुङ लामा र शे–चखाङ गुम्बाका लामा पेमा पुडिन लामालाई ती हतियारधारीले कुटपीट गरी घाइते बनाएका छन्।
असार १२, २०८० मंगलबार २०:३६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।